समयमै बाटो नबन्दा यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित

  ०८१ साउन २६ गते

बुटवल - नारायणगढ बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ । वायु प्रदूषणले मानिसका आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने रुघाखोकी लाग्ने, घाँटी खसखसाउने, आँखा सुख्खा हुने, कमजोर महसुस हुने लगायतका तत्कालीन समस्याहरू भोगिरहेको बुटवल-काठमाडौँ बस चालक राजेश रोकायाले बताउनु भयो । प्रदूषित वातावरण छ । लामो दुरीको यात्रा गर्नुपर्ने त्यसैमाथि लामो समयसम्म धुलो र धुवाँमा बस्दा दम, मुटुसम्बन्धी रोग, फोक्सोको समस्या देखिएको बताउनु भयो ।बाटोकै कारण साढे २ घण्टाको यात्रा ६ घण्टामा पुग्नुपर्छ । नारायणगढ नपुगुन्जेल उकुसमुकुस भएर गर्मीमा धुलो र वर्षामा हिल्याम्मै हुनुपर्ने बाध्यता भएको रोकायाले दुखेसो पोख्नुभयो ।

रोकाया मात्र होइन दिनहुँ जस्तै यो सडकमा ओहोर दोहोर गर्ने हजारौँ यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित भएका छन् । धुलाम्मै बाटोको कारण कतिपय दीर्घरोगी भएका छन् भने कतिपय दीर्घरोगी बिरामीहरूमा जटिल समस्या बढ्दै जाने र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था समेत आउने गरेका स्थानीयहरूको गुनासो रहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार वातावरण प्रदुषण भएमा बालबालिका र ज्येष्ठ नागरिकमा रोगप्रतिरोधात्मक क्षमता कम हुने, प्रजनन् क्षमता घटाउने र गर्भमा रहेको शिशुमा समेत असर पर्ने हुने, मानसिक स्वास्थमा असर गर्ने, पक्षघात हुने, स्वस्थ हावापानीमा हुर्किएका बालबालिकाको तुलनामा प्रदूषित हावाको सम्पर्कमा लामो समयसम्म बसेका बालबालिकामा मस्तिष्कको विकासमा पनि नकारात्मक असर गर्ने, बच्चा जन्मिदै अपाङ्ग भएर जन्मिने लगायतका समस्या देखिने विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

बुटवल-नारायणगढ सडक खण्ड ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको बुटवल–नारायणगढ सडक खण्डको पुनर्निर्माणको काम थप २४ महिना लम्ब्याउँदा पनि करिब ५२ प्रतिशतको मात्र काम सम्पन्न भएको आयोजकहरूले बताएका छन् । सडक विभागले १ सय १३ किलोमिटर लामो दुरी बुटवल-नारायणगढ सडक खण्डको पुनर्निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग २०७५ माघ महिनामा सम्झौता गरेको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग सो सम्झौता गरे अनुसार सो कम्पनीले २०७९ सालको साउन महिनाभित्रै काम सम्पन्न भइसक्नु पर्ने थियो । सडक विभागका अनुसार त्यसयता पहिलो पटक ३ सय ५० दिन र दोस्रो पटक ३ सय ६५ दिन गरी ७ सय १५ दिन म्याद थप गरिएको थियो । पछिल्लो पटक म्याद थप गरिएको समय पनि अघिल्लो महिनामा सकिएको छ । तर निर्माणको काम भने ५२ प्रतिशतको हाराहारीमा मात्र रहेको छ ।

उक्त सडक योजना अन्तर्गत पश्चिम खण्डका योजना प्रमुख सिनियर डिभिजन इन्जिनियर शशाङ्क मिश्रका अनुसार ठेकेदार कम्पनीको तर्फबाट तेस्रो पटकका लागि करिब १८ महिना म्याद थप्ने प्रस्ताव गरिएको बताउनु भयो । 'अब थपिने समयभित्र यो सडक पुनर्निर्माणको सबै काम सम्पन्न हुने र यो समय भनेको कामले गति लिने समय पनि हो', मिश्रले भन्नुभयो ।

पुनर्निर्माणको लागि यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता भएको थियो । जस अनुसार गैँडाकोटदेखि दाउन्ने सम्मको ६४.४२ किमी सडकलाई योजनाको पूर्वी खण्ड र दाउन्ने देखि बुटवलसम्मको ४८.५८ किमी सडकलाई योजनाको पश्चिम खण्डको नाममा सडक विभागले निर्माण कार्यको नियमन गर्दै आइरहेको छ ।

यस्तै गरी पूर्वी खण्डको सडकका प्रमुख सिनियर डिभिजन इन्जिनियर आशिष थापामगरका अनुसार सो पूर्वी खण्डमा पनि ५२ प्रतिशतकै हाराहारीमा काम सम्पन्न भएको बताउनु भयो । 'गाह्रो काम भनेको पुलको काम हो, ती पुलहरू पनि करिब करिब सम्पन्न हुने अवस्थामा पुगेका छन्, यो सडक खण्डमा पनि करिब २७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरिएको छ', थापाले भन्नुभयो । सडक खण्डका आयोजना प्रमुखहरूले काममा ढिलाइ हुनुको मुख्य कारण भनेको कोरोनाभाइरसको महामारीका कारण काम गर्न नसकिएको, काम गर्ने कामदारहरू सबैजसो चिनियाँ भएकोले करिब एक वर्षसम्म काममा नफर्केका कारण पनि ढिलाइ भएको उहाँले बताउनु भयो ।

यस क्षेत्रमा अधिकतम तापक्रम ४४ डिग्री पुग्यो भने वातावरण प्रदुषणको लेभल पनि १ सय ५५ पुगेको छ । लामो समयसम्म वर्षा नहुनु, तापक्रम अत्यधिक हुनु, लामो सयमसम्म भौतिक पूर्वाधार कलकारखानाले रसायनजन्य सामग्रीलाई व्यवस्थित नगरी हावामा मिसाउनु र वातावरण संरक्षणमा सरोकारवालाहरूले चासो नदेखाउनुले यो समस्या दिन प्रतिदिन बढिरहेको छ ।

स्वच्छ वातावरणको हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिवापत क्षतिपूर्ति पाउने हक हुने व्यवस्था धारा ३० मा गरिएको छ । वातावरण विनाश वा ह्रास वा प्रदुषणबाट कसैलाई हानि पुग्न गएमा प्रदुषकले क्षति वापत क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्थाले प्रदुषणकर्तालाई जवाफदेही तुल्याई स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई मर्यादित तुल्याइएको छ । तर वातावरण प्रदुषणका कारण यस क्षेत्रका बासिन्दाहरू, छोटो तथा लामो दुरीका यात्रुहरू र सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ ।


रीमा बिसी