समयमै उपचार पाउन नसकेपछि सुत्केरी र नवजात शिशुको मृत्यु !

  ०८१ पुस २३ गते

समयमै उपचार पाउन नसक्दा एक जना सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका–१ डुडिलकी ३१ वर्षीया खिना बोहराले बीच बाटोमै बच्चा जन्माउँदा उहाँ र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो ।

बच्चा जन्माउदा अत्यधिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको केदास्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले बताउनु भयो ।‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालको लागि लगिएको रहेछ ’ उहाँले भन्नुभयो, ‘अस्पतालसम्म पुग्न नपाउँदै बाटोमै बच्चा जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’

बोहराका पति उमेश बोहरा कामको सिलसिलामा भारतमा रहनुभएको छ । घरमा सासू ससुरासँग बस्दै आएकी बोहरालाई ०८१ पुस २१ गते साँझबाटै व्यथा सुरु भएको थियो । पुस २२ गते बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासुससुराले उहाँलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी, देउराको लागि हिँडाएका थिए । निकै समस्या हुँदा पनि उहाँलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो ।

त्यसको करिब डेढ घण्टापछि उहाँले बाटोमा नै बच्चा जन्माउनु भएको थियो । बाटोमै नवजात शिशुको जन्म भएपछि उहाँका अभिभावकहरूले जनप्रतिनिधि पदमप्रसाद भट्टलाई सम्पर्क गर्नुभएको थियो ।

वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमलकुमार मल्ललाई घटना बारे जानकारी गराएपछि एम्बुलेन्स, उपचार सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली पुगेको थियो । तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिनुभयो ।

‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो । तर, पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ ’ उहाँले भन्नुभयो ‘ निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ ।’

समयमा अस्पतालसम्म पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी तथा गर्भवतीको मृत्यु हुने गरेको छ ।


सत्यराज सिंह