समयमै उपचार नहुँदा आमा र बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा धर्ना

  ०७८ माघ ९ गते

समयमै उपचार नहुँदा जिल्ला अस्पतालमा एक आमा र बच्चाको मृत्यु भएपनि पीडितहरू आन्दोलित भएका छन् ।

सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका कामीको माघ ७ गते शल्यक्रियापछि माघ ८ गते मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि आफन्तले माघ ५ गते जिल्ला अस्पातलमा भर्ना गरेकोमा सोही दिन डाक्टरले शल्यक्रियामार्फत बच्चा निकाले पनि केही समयमै बच्चाको मृत्यु भएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

शल्यक्रिया गरेको तीन दिनपछि आमाको पनि मृत्यु हुँदा आफन्तले माघ ८ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको मृतकका ससुरा धनसिंह कामीले जानकारी दिनुभयो । डाक्टरको लापारवाहिका कारण आफ्नी बुहारीको मृत्यु भएको धनसिंहले आरोप लगाउनुभयो ।

‘अस्पतालमा भर्ना गरेर बुहारीको अवस्था गम्भीर भइसकेको रहेछ तर, न हामीलाई कुनै जानकारी गराए न रिफर गरे’ धनसिंहले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभयो ।

शल्यक्रिया गरेर जिल्ला अस्पतालमै भर्ना गरेकी कामीलाई माघ ७ गते एक्कासी समस्या भएको भन्दै औषधिको खोजि गरेको तर, अस्पताल र बजारका मेडिकलसमेतमा औषधि नपाइदा अकालमै ज्यान गुमाउनु परेको धनसिंहको भनाइ छ । उहाँले प्रश्न गर्नुभयो ‘जिल्ला अस्पतालमा औषधि नपाइने भए शल्यक्रिया किन गरेको ?’

Photo20220123Humla

समयमै उपचार हुन नसकेर ज्यान गुमेको आरोपमा आफन्तले लाश बुझ्न नमानेको जिल्ला अस्पतालका प्रमुख प्रेम सिंहले बताउनुभयो । आफन्तले न्यायको माग गद अस्पतालमा धर्ना गरिरहेको सिंहको भनाइ छ ।

स्वास प्रस्वासको समस्याले टीकाको मृत्यु भएको अस्पतालका प्रमुख सिंहले बताउनु भयो । स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पताल हुम्लाले उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरेको भएपनि राती भएकाले उद्धार हुन नसकेको उहाँको भनाइ छ ।

माइती पक्षले के कारणले छोरीको मृत्यु भएको भन्ने पत्ता नलाग्दासम्म शव उठाउन नदिँदा पोष्टमार्टम हुन नसकेको अस्पतालले जनाएको छ ।

घरपरिवारले शव उठाउन नमानेपछि सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, डिएसपी हेरम्व शर्मा लगायतको टोलि ८ गते जिल्ला अस्पतालमा पुगेको थियो । नियतवस घटना नघटेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

यहाँका महिलाहरूले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिरहेको छ । ०७८ पुस ३० गते अदानचुली गाउँपालिका–६ का गौगरा बत्यालको पनि सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो ।


नन्द सिंह