समयमै उद्धार हुन नसकेपछि सुत्केरीको मृत्यु भएको परिवारको गुनासो

ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको  जहाजको प्रतिक्षा गर्दागर्दै ज्यान गएको छ ।

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा पुस २३ गते राति १० बजे सुत्केरी बुढाको मृत्यु भएको हो ।

ताजाँकोट गाउँपालिका–५ स्थित मदना स्वास्थ्य चौकीमा गत पुस  १२ गते सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि पुनः परिवारले थप उपचारका लागि पुस २० गते सोही मदना स्वास्थ्य संस्थामा लगेको ससुरा जितबहादुर बुढाले बताउनुभयो । बुहारीलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि मदना स्वास्थ्यचौकी लगिएको उहाँले बताउनु भयाे । स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि पुस २१ गते सुविधा सम्पन्न अस्पताल नेपालगन्जमा रेफर गरिएको सोही स्वास्थ्यचौकीका इन्चार्ज रामलाल देवकोटाले बताउनुभयो ।

नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताउनुभयो । उपचारका क्रममा ११ दिनदेखि रक्तअल्पता र निमोनियाले थला परेकी सुत्केरी बुढाको मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रन्जित शाहले बताउनुभयो ।

सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु पर्छ । कोल्टी पुग्दा उहाँको अक्सिजन ४९ मात्रै रहेको डा‍‍. शाहले बताउनुभयो । दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै ज्यान गुमाउनु परेको मृतकका पति सन्तोष बुढाले गुनासो गर्नुभयो ।


नन्द सिंह