समयमा हेलिकप्टर उडानको अनुमति नहुँदा एक बिरामीको मृत्यु

  ०७९ असार ७ गते

हेलिकप्टर उडान अनुमति ढिलाई हुँदा साउन ६ गते दिउँसो करिव २ बजे चुमनुव्री गाउँपालिका–६ खारगाउँकी २० वर्षीय मिङ्मार छेमजोङ लामाको मृत्यु भएको छ ।

‘सडक छैन । हेलिकप्टरको अनुुमति लिँदैमा २ बज्यो ।’–उद्धारको सहजिकरण गर्नुभएका चुमनुव्री–७ का धावा ग्याल्जेन लामाले भन्नु भयो–‘असार ६ गते बिहानै हेलिकप्टर उडान अनुमति लिन प्रक्रिया सुरू गरेका थियौँ । दिउँसो २ बजे मात्र उडानको अनुमति पायौँ । अनुमति पाए लगत्तै बिरामीको मृत्यु भयो ।’

निषेधित क्षेत्रको रुपमा रहेको चुमनुव्रीमा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयले उडान अनुमति दिँदै आएको छ ।

‘जिल्ला प्रशासन कार्यलय गोरखाबाट बेलैमा अनुमति पाएका थियौँ । काठमाडौँमा धेरै समय लाग्यो ।’– उहाँले भन्नु भयो–‘निषेधित क्षेत्रमा यस्तो समस्या भइरहने भयो ।’

उद्धारमा हेलिकप्टर उडानको झञ्झटिलो प्रक्रियाले दुर्गमका स्थानीयले सास्ती भोग्दै आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनु भयो । ‘गृह मन्त्रालयसँग उद्धार प्रक्रिया सहज बनाउन पहल गर्छौँ ।’–उहाँले भन्नु भयो ।

निषेधित क्षेत्र भएपनि उद्धारका लागि अनुमति र सिफारिसमा ढिलाइ नगर्ने गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बताउनु भयो ।


हरिराम उप्रेती