समयमा स्वास्थ्य विमा नविकरण नहुँदा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लामा समयमा विमा नविकरण नहुँदा स्यानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य विमाले निकै राहत गर्ने भनिएता पनि यस जिल्लाको दुर्गम क्षेत्रमा यसको कुनै प्रभाव नपरेको देखिएको छ ।

स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि भरिएका फारमहरु अहिलेसम्म पनि नविकरण नगरिएको अदानचुली गाउँपालिका–२ की लालपरु सुनारले गुनासो गर्नु भएको छ । उहाँका अनुसार मैले स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि फारम भरेको थिए । परिचय पत्र पनि पाए अहिले फारम भरेको धेरै वर्ष भयो तर नविकरण गर्न कोहि पनि आएनन् र के कसरी नविकरण गर्ने हो थाहा नभएको गुनासो गर्नुभयो ।
स्वास्थ्य विमा भरेको एक वर्षपछि ट्रमा सेन्टर काठमाडौमा उपचार गर्न गए, त्यहाँ स्वास्थ्य विमाको परिचय पत्र देखाए तर नविकरण नभएको भन्दै सुविधा लिन नपाएको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो ‘यसको मुख्य समस्याको जर वडाका जनप्रतिनिधिले स्वास्थ्य विमा गरेपछि नविकरण कहिले गर्ने भनेर जानकारी नै नगराएपछि यस्तो समस्या आएको हो ।’

यो त प्रतिनिधि पात्र मात्रै हुन् । यो समस्या हरेक गाँउमा प्रति घरधुरी ३ हजार ५ सयका दरले रुपियाँ तिरेर फारम भरेका छन् तर कोही कसैले पनि सेवा लिन पाएका छैनन् ।
त्यस्तै गरी, अदानचुली गाउँपालिका–३ की विमा दर्ता सहयोगी प्रतिभा फडेराले आफू लगायत आफ्नो वडाबाट २ ३ जनाले सेवा लिएको छन् । सुरुमा ४ दिन तालिम दियो । एक ओटा मोबाइल पनि उपलब्ध गरायो । त्यस पछि स्वास्थ्य विमा कार्यक्रम नै जिल्लामा सुनसान हुँदा हामीले पनि नयाँ भर्ने र नविकरणको काम गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।

स्वास्थ्य विमा कार्यालय जिल्ला संयोजक गाबिन्दराज ओझाका अनुसार पछिल्लो समय यहाँ स्वास्थ्य विमा सहजकर्ताले काम नगर्दा परिवर्तन गर्नु परेकाले पनि नविकरण हुँन नसकेको स्वीकार गर्नु भयो ।
यसलाई निरन्त्रता दिनको लागि विमा दर्ता सहयोगीहरूको आवश्यकता पर्दछ । गाउँपालिकाका दर्ता सहयोगीले काम गर्न सकेनन् त्यसकारण हामीले दर्ता सहयोगी छनौट गरेर पठाउन पटक पटक पत्र पठाउँदा पनि छनौट गरी नपठाउँदा समस्या भएको उहाँले प्रतिकृया दिनुभयो ।

अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले स्वास्थ्य विमा कार्यालयले पत्र पठाएको स्वीकार गर्दै आफूले सबै वडा अध्यक्षलाई जानकारी गराई सकेको र सोही अनुसार वडा नम्बर ३ र ४ ले दर्ता सहयोगी पठाई काम सुरु भैसकेको र अरु वडाले पनि अब केहि दिनमा पठाउने तयारी भएको बताउनुभयो ।

स्वास्थ्य विमाले नागरिकको लागि अपरिहार्य छ तर गाउँमा स्वास्थ्य विमा गराउँ भने दर्ता सहयोगी छैनन् । दर्ता गरीएका विमा पनि नविकरण नगर्दा सेवा लिनबाट स्थानीय नागरिकहरू वञ्चित भएका छन् । यसको लागि तत्काल दर्ता सहयोगी छनौट गरी सेवा सुचारु गर्न जरुरी रहेको स्थानीय नागरिकहरूको भनाइ छ ।


नन्द सिंह