समयमा नै ध्यान पुर्‍याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण

  ०७८ वैशाख १० गते

इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्‍याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नेपालगञ्जमा कोभिड-१९ का कारण बढ्दै आएको सङ्कट र यसले निम्त्याउन सक्ने भयावह स्थितिका बारेमा स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिच वैशाख १० गते छलफल गरिएको छ ।

स्थानीय स्तरमा समन्वय नहुँदा र स्रोत साधनको अभाव हुँदा कोभिड सङ्क्रमितहरूको मृत्युसमेत हुन थालेको उनीहरूले बताएका छन् ।

photo20210423banke (1)

सङ्घीय सरकारले कोभिड महामारी बढी भएका स्थानहरुमा जतिसक्दो छिटो मेडिकल जनशक्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजनको कमी हुन नदिने, समन्वय तथा सहकार्यका लागि आवश्यक प्रोटोकलको विकास गर्नुपर्ने, कोभिड फोकल पर्सनलाई प्रभावकारी बनाउनु पर्ने साथै स्रोत साधनमा कुनै कमी आउन नदिनका लागि तत्काल पहल गर्नुपर्ने कुरा कोभिड सङ्क्रमितहरुको उपचारमा संलग्न मेडिकल कलेज नेपालगञ्जका सहायक प्राध्यापक डाक्टर आसिम किदवाईले सुझाव दिनु भएको छ ।

भेरी अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण श्रेष्ठका अनुसार थप समस्या आउन नदिनका लागि स्थानीय प्रशासन, राजनितिक दल तथा स्थानीय तहसँग तत्काल बैठक बसी कार्यस्थलमा खटिनुपर्छ ।

उहाँले वैशाख ११ गते यसै सन्दर्भमा आपतकालीन बैठक समेत राखिने कुरा बताउनु भएको छ । छलफलमा मेडिकल कलेज नेपालगञ्जका उपनिर्देशक डाक्टर निदेशकुमार कनोडियाले अस्पतालहरूले कोभिड सङ्क्रमितहरूलाई गरिएको उपचार  र उपचारका क्रममा देखिएका समस्यालाई प्रस्तुत गर्दै समाधानका लागि सामूहिक पहलमा जोड दिनु भएको छ ।

छलफलमा अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मी, नागरिक अगुवालगायतको सहभागिता रहेको थियो । सहभागीहरूले सरोकारवालाहरूको ध्यानाकर्षणका लागि सार्वजनिक अपिलसमेत गरेका छन् ।

photo20210423banke (2)


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज