सप्तरी जिल्लामा बलात्कारका घटनामा बृद्धि

सप्तरीमा एक वर्षको अवधिमा महिला बलात्कारका १४, बलात्कार प्रयासका आठ र यौन दुर्व्यवहारको एउटा घटना भएका छन् ।

गत वर्षको तुलनामा सन् २०१७ को अवधिमा यौन दुर्व्यवहारका घटना बृद्धि भएको र अधिकांश घटनाका आरोपितहरू कानुनी कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका निमित्त एसपी ध्रुबकुमार श्रेष्ठले बताए ।

सन् २०१६ को अवधिमा बलात्कारको घटनाबाट चार महिला, बलात्कार प्रयासको घटनाबाट १० र यौन दुर्व्यवहारको घटनाबाट एक महिला पीडित भएकी थिइन् ।

०७३ पुस १७ गतेदेखि ०७४ पुस १६ गतेसम्ममा महिला बलात्कारका १४ घटनामा सुस्त मनस्थितीकी १९ वर्षीयादेखि ४० वर्षीयासम्मका महिला पीडित भएका छन् । आरोपित २५ जनामध्ये अदालतको आदेशमा १२ जना पुपर्क्षका लागि राजविराज कारागारमा थुनामा रहेका छन् । गिरफ्तार हुन नसकेका आठ जनालाई अदालतले वारेण्ट जारी गरेको छ भने दुई बालकसहित तीनजना धरौटीमा रिहा भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

विवाह गर्ने आरोपितहरूको प्रतिबद्धतापछि दुई जना पीडित 'होस्टाइल' हुँदा थुनामा रहेका दुई जनाले सफाई पाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार प्रयासका आठ घटनामा १९ देखि ३५ वर्षका महिलासम्म पीडित भए । आरोपित आठमध्ये तीन जना पुपर्क्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

आरोपितमध्ये एक जनालाई अदालतले वारेण्ट जारी गरेको छ भने दुई जना आरोपित धरौटी राखेर तारेखमा छुटेका छन् । आरोपितमध्ये एक जना हालसम्म गिरफ्तार भएका छैनन् भने एक जनालाई उनी कार्यरत गैरसरकारी संस्थाले मात्रै कारबाही गरेको छ । यौन दुर्व्यवहारको एक घटनाका एक जना आरोपित जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।


मनोहरकुमार पोखरेल