सप्तरीका मतदानस्थलमा नौ सार्ने, अठार थप्ने, दुई गाभ्ने र ३३ ओटा सच्याउने निर्णय

  ०७९ साउन ३१ गते

भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका मतदान स्थलमा नौ ओटा सार्ने, १८ ओटा थप गर्ने, दुई ओटा गाभ्ने र ३३ ओटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस पठाएको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदान स्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटीयुक्त मतदान स्थलको नाम सच्याउने निर्णय भएको बताउनु भयो । निर्णय बमोजिम निर्वाचन आयोगमा सिफारिश पठाएको उहाँले बताउनु भयो ।

राजविराजमा साउन ६ गते र साउन १३ गते बसेको सर्वदलिय वैठकको निर्णयअनुसार समितिले स्थलगत अवलोकन, निरीक्षण गरेर समितिमा प्रस्तुत प्रतिवेदनका आधारमा मतदान स्थल सार्ने, टुक्र्याउने, गाभ्ने निर्णय गरी सिफारिश पठाइएको समितिका सदस्य सचिव जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो ।

समितिको निर्णय अनुसार कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि बनरैतामा, हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित गाविस भवन पोर्ताहाबाट कंकालिनी माध्यमिक विद्यालयमा, वडा नम्बर ११ स्थित मस्जिद फुलबारी सखुवाटोल नजिकको चउरबाट सीताराम आधारभूत विद्यालयमा, डाक्नेश्वरी नगरपालिका–८ स्थित कोशी पम्प केनाल विषहरियाबाट शहरी स्वास्थ्य केन्द्र विषहरियामा मतदान स्थल सार्ने सिफारिश भएको छ ।

यसैगरी बोदे बर्साइन नगरपालिका–९ स्थित जनस्वास्थ्य चौकी देउरी स्वर्णपट्टीबाट महान सहिद जन राष्ट्रिय प्राथमिक विद्यालय स्वर्णपट्टीमा, छिन्नमस्ता गाउँपलिका–७ स्थित राष्ट्रिय प्रावि हाटीबाट वडा कार्यालय हाटीमा, तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित डिहवारस्थान चउर मधेपुराबाट राष्ट्रिय प्रावि मधेपुरामा मतदान स्थल सार्ने सिफारिश गरिएको छ ।

विष्णुपुर गाउँपालिका–१ स्थित आधारभूत विद्यालय परसाही स्वास्थ्य चौकीमा साविक मतदान स्थल कायम रहने गरी गाविस भवन जमुनी मधेपुराको मतदान स्थल सार्ने सिफरिश समेत भएको छ ।

मतदाता सङ्ख्या बढी भएको र ठाउँ सानो भएको १८ मतदान स्थललाई टुक्र्याएर मतदातालाई पायक पर्ने अर्को मतदान स्थल थप गर्ने सिफारिश भएको निर्वाचन अधिकारी जोशीले बताउनु भयो ।

राजविराज नगरपालिका–६ बहिरा बालक स्कुललाई टुक्र्याएर खानेपानी संस्था खैरसाल, वडा नम्बर–१० स्थित राष्ट्रिय प्रावि दिघवालाई टुक्र्याएर नेपाल रेडक्रस प्रावि कमलपुर, वडा नम्बर–१२ स्थित गाविस भवन विषहरियालाई टुक्र्याएर राष्ट्रिय प्रावि दमावती थप गर्ने सिफारिश भएको छ ।

कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि बनरैत टोलको मतदान स्थललाई टुक्र्याएर शंकर मावि सुब्बा टोल, वडा नम्बर–९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर राष्ट्रिय प्रावि रघुनाथपुर, वडा नम्बर–१० जनता आधारभूत विद्यालय बदगामालाई टुक्र्याएर राष्ट्रिय प्रावि डेढाहा थप गर्ने सिफारिश गरिएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदहलाई टुक्र्याएर कोशी व्यारेजमा मतदान केन्द्र टुक्रा पारी विपी स्मारक माविमा थप्ने, वडा नम्बर–८ स्थित जोगनी राष्ट्रिय प्रावि जोगिनिया टुक्र्याएर राष्ट्रिय प्रावि बेल्हा थप गर्ने सिफारिश भएको छ ।

छिन्नमस्ता गाउँपलिका–६ स्थित ब्रह्मस्थान चउर लालपट्टी खुदीबखारीलाई टुक्र्याएर कुपही मावि, तिरहुत गाउँपालिका–१ स्थित जनता राष्ट्रिय प्रावि धनपुरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि धनपुरी त्रिकोल, वडा नम्बर– ४ स्थित मावि डिमनलाई टुक्र्याएर बिर्ता टोल हनुमान मन्दिर थप गर्ने सिफारिश भएको छ ।

राजगढ गाउँपालिका–६ स्थित राष्ट्रिय प्रावि फकिरालाई टुक्र्याएर आधारभूत विद्यालय बरदाही, तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित राष्ट्रिय देवकी आधारभूत विद्यालयलाई टुक्र्याएर सामुदायिक भवन रामजानकी मन्दिर मुखिया टोल, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि बल्थी, वडा नम्बर–६ स्थित गाविस भवन ढिकलीलाई टुक्र्याएर सामुदायिक भवन ढिकली थप गर्ने सिफारिश भएको छ ।

बलान बिहुल गाउँपालिका–२ स्थित राष्ट्रिय प्रावि पथराहालाई टुक्र्याएर राप्रावि दिघिया, वडा नम्बर–३ स्थित प्ररासु पशुपति विद्यालय टिकुलियालाई टुक्र्याएर पञ्चायत रजत जयन्ती राप्रावि दुधैला र रूपनी गाउँपालिका–२ स्थित राजाजी स्थान पिप्राही चौरलाई टुक्र्याएर जेसीज आधारभूत विद्यालय पौवा मतदान स्थल थप गर्ने सिफारिश भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ स्थित वडा कार्यालय भवन हरीहरपुरलाई आधारभूत विद्यालय मटिगढीमा र कञ्चनरूप नगरपालिका–३ स्थित पोखरी छेउको चौर गोरपारलाई राष्ट्रिय मावि बनरैत टोलमा गाभ्ने निर्णय भएको छ ।

यसैगरी संघीय संरचना अघिका पुराना नाम र त्रुटीपूर्ण ३३ ओटा नाम सच्याउने निर्णय भएको छ । कञ्चनरूप नगरपालिका–८ स्थित गाविस भवन कञ्चनरूप, वडा नम्बर–१२ स्थित गाविस भवन  रूपनगर, डाक्नेश्वरी नगरपालिका–७ स्थित गाविस भवन ब्रह्मपुर, वडा नम्बर–८ स्थित गाविस भवन गम्हरिया प्रवाहाको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ ।

तिरहुत गाउँपालिका–२ स्थित गाविस भवन मैनाकडेरी, वडा नम्बर–५ स्थित गाविस भवन लोहजरा, तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित गाविस भवन मन्सापुर, बोदे बर्साइन नगरपालिका–१ स्थित गाविस भवन धनगढी, वडा नम्बर–८ स्थित गाविस भवन काचन, वडा नम्बर–९ स्थित गाविस भवन देउरी स्वर्ण पट्टीको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ ।

वडा कार्यालय भवन भनेर सच्याइएको नाममा महादेवा गाउँपालिका–२ स्थित गाविस भवन चकला, वडा नम्बर–४ स्थित गाविस भवन डाढा, वडा नम्बर–६ स्थित गाविस भवन ढिकली, राजविराज नगरपालिका–१६ स्थित गाविस भवन बोरिया, बलान बिहुल गाउँपालिका–४ स्थित गाविस भवन बेल्ही समेत रहेको छ ।

यस्तै शम्भुनाथ नगरपालिका–१ स्थित गाविस भवन खोक्सर, वडा नम्बर–६ स्थित गाविस भवन मोहनपुर, वडा नम्बर–१० स्थित गाविस भवन रामपुर जमुवा, सुरुङ्गा नगरपालिका–१ स्थित गाविस भवन पिप्रा पश्चिम, वडा नम्बर–३ स्थित गाविस भवन लक्ष्मीपुर, वडा नम्बर–४ स्थित गाविस भवन मधुपट्टी, वडा नम्बर–५ स्थित गाविस भवन कुशहा, वडा नम्बर–७ स्थित गाविस भवन हरीपुर, वडा नम्बर–८ स्थित गाविस भवन मल्हन्माको नाम पनि वडा कार्यालय भवन भनेर सच्याइएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदह, वडा नम्बर–३ स्थित गाविस भवन पोर्ताहा, वडा नम्बर–४ स्थित गाविस भवन मधवापुरको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ ।

यस्तै डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको नाम हरिराहा, वडा नम्बर–५ स्थित कच उच्च मावि पातोको नाम कच मावि पातो, डाक्नेश्वरी नगरपालिका–१० स्थित फेकनी मावि बनौलाको नाम हिरा फेकनी मावि बनौला, महादेवा गाउँपालिका–४ स्थित उपस्वास्थ्य चौकी बलिया डाढा साविक गाविस भवनको नाम उपस्वास्थ्य चौकी बलिया डाढा, बोदे बर्साइन नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गौराहाको नामा राष्ट्रिय प्राथमिक विद्यालय गौरा हुनुपर्ने गरी सच्याइएको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरिक्षण तथा स्थानीयवासीको सुझावको आधारमा ९ मतदान स्थल सार्ने, १८ मतदान स्थल थप्ने, २ मतदान स्थल गाभ्ने र ३३ मतदान स्थलको नाम सच्याउने गरी निर्वाचन आयोगलाई सिफारिस पठाइएको निर्वाचन अधिकारी जोशीले बताउनु भयो ।

गत स्थानीय तहको निर्वाचनमा ९ ओटा नगरपालिका र ९ ओटा गाउँपालिका तथा १ सय ६४ वडा रहेको सप्तरीमा २ सय ९७ मतदान स्थलमा ५ सय ३६ मतदान केन्द्र रहेको थियो ।


मनोहरकुमार पोखरेल