सदरमुकाममै पाँच महिनादेखि खानेपानीको समस्या !

पाँच महिनादेखि सिन्धुली सदरमुकामबासीले खानेपानीको समस्या भोगिरहेका छन । सदरमुकामका मधुटार, पानीटयाङ्कीलगायतका स्थानमा सडक निर्माणका काम हुँदा पाइप काटिएपछि खानेपानीको समस्या भोग्नु परेको स्थानीयबासीहरुले बताएका छन् ।

कमलामाई नगरपालिका–५ को मधुटारमा सडक निर्माण हुँदा पाइप लाईन काटिएपछि ५ महिनादेखि खानेपानीको अभाव भएको हो ।

सदरमुकाममा खानेपानी वितरणको काम गर्ने सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी आपूर्ति गर्न सकेको छैन ।

मधुटारका सडकहरू भवन निर्माण तथा सडक डिभिजन कार्यालयले पिच गर्न थालेका कारण यो क्षेत्रमा खानेपानीको हाहाकार भएको छ ।

खानेपानी धारामा नआएपछि यहाँका बासिन्दाले कहिले जारको पानी किनेर त कतिले कुवा तथा खोलाको पानी तानेर खाइरहेका छन् ।

केही नागरिकले इनारको पानी खाने गरेको भए पनि गर्मी बढेसँगै इनारहरू समेत सुक्दै जान थालेका कारण खानेपानीको समस्या भोगिरहनु परेको स्थानीय निर्मला विशङ्खेले गुनासो गरिन् ।

‘घना बस्ती भएको यो शहरमा खानेपानीले हरेक महिना बिल त पठाएको छ । तर, पाँच महिनादेखि पानी खान पाइएको छैन ।’–कमलामाई नगरपालिका–५ मधुटारका विनय दाहालले भने ।

सडक निर्माणका कारण खानेपानीको अभाव कमलामाई नगरपालिका–६ को पानीटयाङ्कीमा पनि उस्तै छ । प्रदेश सरकारको बजेटमा पानीट्याङ्कीदेखि बर्देउटार जोड्ने सडकको काम भइरहँदा खानेपानी वितरणमा समस्या भएको छ ।

चार ओटा मुख्य पाइपलाईबाट कमलामाई नगरपालिकाका चार वटा वडामा खानेपानी आपूर्ति हँुदै आएको थियो ।

सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सडक निर्माणका कारण पाइप काटिएर सहज तरिकाले खानेपानीको आपूर्ति गर्न नसकेको बताए ।

उनले सडक निर्माणसँगै खानेपानीको काम समेत भइरहेकाले सडक बनिसक्दा खानेपानीको आपूर्ति गरिने बताए ।

उनले थपे–‘खानेपानीको मुख्य स्थानमै समस्या भएकाले पनि धेरै गाउँहरुमा खानेपानीको समस्या भएको छ । सडकको काम नसकिएसम्म हामी पनि फिल्डमै खटिरहेका छौँ ।’–उनले भने ।


बिमला पाण्डे