सदरमुकाममै किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

  ०७४ पुस ११ गते

तुलनात्मक रूपमा सुधार भएपनि जातीय छुवाछुत विद्यमान रहेको बैतडी जिल्लाको सदरमुकाममै दलितले पालेका गाईभैँसीको दुध किनबेच हुँदैन ।

पछिल्लो समय दलितहरूलाई होटल प्रवेश गर्न दिइएपनि दलितले उत्पादन गरी बजारमा दुध बेच्न जाँदा कसैलेपनि नराख्ने गरेको दशरथचन्द नगरपालिका-४ की पार्वती भुलले बताइन् । 'धेरै गाईभैँसी त पालेका छैनौँ । तर, घरमा पालिएका एक/दुई ओटा गाईको दुध बजारमा बेच्न लैजाँदा कुनै व्यपारीले पनि राख्दैनन् ।'-उनले भनिन् ।

जिल्ला सदरमुकाममा रहेका दुध डेरीमा पहिले उनीहरूले दुध बेच्ने गर्दथे थर आजभोलि डेरी बन्द भएपछि व्यापारीहरूले उनिहरूको दुध नकिन्दा दलित समुदायले उत्पादन गरेको दुध विक्री हुन नसकेको हो ।

दुध नबेचिने भएपछि घिउ बनाएर आफुहरूले बजारमा बेच्ने गरेको स्थानीय लक्ष्मणराम भुलको भनाई छ ।

'कानुनी रूपमा जातीय छुवाछुत गर्न नपाइने भएपछि पहिलाको जस्तो देखिने गरी छोइछिटो त हाल्दैनन् । तर, भित्रि रूपमा अझै दलितमाथिको विभेद कायमै छ ।'-लक्ष्मणराम भुलले भने ।

तल्लोस्वराड क्षेत्रमा त उपल्लो जातिका मानिसले पनि गोरस (दुध, दही, मोही) दलितले छुँदा 'देउता रिसाउँछन्' भन्दै बजारमा दुध, दही, मोही केही पनि बेच्दैनन् ।

जिल्लाको विकट मानिने उक्त क्षेत्रमा अझै अप्रत्यक्ष रूपमा जातीय छुवाछुत कायमै रहेकेा तल्लोस्वराड क्षेत्रमा पर्ने पश्चेश्वर गाँउपालिका-२ माहाकालीका पत्रकार मोहन चन्दले बताए । यस क्षेत्रका अधिकांश मन्दिरमा दलितलाई प्रवेश गर्न पनि दिइँदैन ।

'प्रवेश गर्न कसैले रोक नलगाउने भएपनि सामाजिक रूपमा बहिस्कृत गर्ने भएकाले आफूहरूलाई मन्दिर पस्ने वातारवरण छैन ।'-सिगास गाँउपालिका-३ का विष्णु बिकले भने ।


नरी बडु