सदरमुकामकै अस्पतालमा पुग्दैन औषधि

पिलोको उपचारका क्रममा दुखाई कम गर्न प्रयोग गरिने 'लिगोसाइन इञ्जेक्सन' सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निशुल्क औषधिको सूचीमा राखेको छ । यस्तै 'सप्रोफ्लोक्जासिन, क्लोराम्फेनिकल, फ्लुकनाजोल'लगायतका औषधि निशुल्क उपलब्ध हुने औषधिको सूचीमा छन् । तर, सरकारले यी कुनै पनि औषधि जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा पठाएको छैन । जिल्ला अस्पतालमा ७० किसिमका औषधि निशुल्क पठाउनु पर्ने सरकारले यो आर्थिक वर्षमा ३२ प्रकारका औषधि मात्र पठाएको छ । बाँकी ३८ प्रकारका औषधि नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउन सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको 'निशुल्क औषधि 'लोकप्रिय' नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ । निःशुल्क भनिएका सबै औषधि केन्द्रबाट नआएको र जति आएका छन् त्यसैका भरमा सेवा प्रवाह भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका डक्टर रामबहादुर केसीले बताए ।

जिल्ला अस्पतालका अनुसार निशुल्क औषधि उपलब्ध गराउने घोषणा गरिए यता सरकार आफैँले तोके अनुसार औषधि कहिल्यै पर्याप्त मात्रामा पठाउन सकेको छैन । यस आर्थिक वर्ष सिप्रोफ्लोजासिन, डोक्लिसिलिन, लिगोसिन, एस्प्रिन, फेनिरामाइन, क्लोराम्फेनिकोल, सेटिरिजाइनफ्लुकनाजोल, एसिक्लोभिर, ट्याबेट, हाइड्रोक्लोरोथाइलिन ट्याबलेट, केलामाइन लोकेसन, डाइनिज ट्याबलेट, एट्रोपाइन, कोभिल आयल, मेटोक्लोरपोपामाइन, प्रोमथानिज, बेन्जिक एसिड, फ्रसमाइड, डेक्जामेथाइजन, एमिनोफिलाइन, प्रेडिनिसोलाइन, प्रालिडोक्जोमी सोडियम, एमिट्रिप्टिलाइन, एड्रेनालाइन, डाइगोजिनलगायतका लगायताका औषधि पठाएको छैन ।

यस्तै, क्लोट्रिमेजोल, डाइजिपाम, जेन्टिएन, भाइयोलेट, एसेटाजोलामाइड, लिभोथ्रोक्जिन, इनालाप्रिल, एटोरभास्टेसन, फ्लुओक्जेटिन, भलपरिक एसिड, ट्रिहेक्जिफेनिडिल, थाइमिन, एमिट्रिप्टिलिन ट्याब्लेट पनि नआएको स्वास्थ्य कार्यालय स्टोर शाखाका नायब सुब्बा अनिल आचार्यले बताए । यी सबै औषधि सरकारले निशुल्क उपलब्ध गराउने सूचीमा पर्दछन् । ५८ प्रकारका औषधि निशुल्क प्राप्त हुनुपर्ने प्राथमिक स्वास्थ्य केन्द्र र ३५ प्रकारका औषधि निशुल्क प्राप्त हुनुपर्ने स्वास्थ्यचौकीमा समेत भनेबमोजिमका औषधि नआएको अवस्था छ । अपुग औषधि आफैँले जेनतेन व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयकानुसार औषधि खरिदको लागि यस आर्थिक वर्षप्राप्त भएको ४ लाख रुपियाँबाट १९ प्रकारका औषधि खरिद गरिएको छ । 'सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निशुल्क दिने भनेर घोषणा त गर्‍यो ।'-ड.केसीले भने-'सरकार आफैँले हालसम्म घोषणाअनुसारको औषधि कहिल्यै पूरा मात्रामा पठाउन सकेको छैन ।'

स्वास्थ्य शिविर सञ्चालन गर्न औषधि मागेका नेपाली सेना र कतिपय विद्यालयलाई समेत औषधि दिन नसकेको जिल्ला अस्पतालले जनाएको छ । बिरामीका आफन्त अस्पतालमा नभएका औषधि निजी क्लिनिकमा पुगेर खरिद गर्न बाध्य छन् । जिल्लामा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, ७१ स्वास्थ्यचौकी, दुई उपस्वास्थ्य छन् । जिल्लाका स्वास्थ्यसंस्थामा केन्द्रीय मेडिकल स्टोर बारा र क्षेत्रीय मेडिकल स्टोर विराटनगरले औषधि पठाउने गरेको छ ।


सुनिता मगर