सदमुकामका स्वास्थ्य संस्थामै औषधिको अभाव

जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको चरम अभाव देखिएको छ ।

चालु आर्थिक वर्ष २०७४/०७५ मा औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा न्यून बजेट विनियोजन हुनु र स्थानीय तह नगरपालिकाले औषधि खरिदमा बजेट विनियोजन नगरी सबै बजेट विकास निर्माण कार्यमा विनियोजन गरेका कारण स्वास्थ्य संस्थामा औषधिको चरम अभाव देखिएको हो ।

तलिउम स्वास्थ्य चौकी अन्तर्गत महिला स्यवम्सेविका शोभा शाहीले स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्था आउनु र नआउनुमा कुनै फरक नरहेको बताइन् । उनले स्वास्थ्य संस्थामा औषधि नै छैन कसरी सेवाग्राहीलाई चित्त बुझाएर पठाउनु निकै समस्या भएको बताइन् ।

'शुन्य मौज्दात राख्न नहुने १५/१६ प्रकारका औषधि नै छैनन् । परिवार नियोजनका अस्थायी साधनहरू छैनन् । एक जना गर्भवती महिलालाई २ सय ४५ चक्की आइरन चक्की दिनुपर्ने हो । त्यो पनि दिन पाएका छैनौँ ।'-उनले भनिन्-'स्वास्थ्य चौकीको ढोका खोलेर बस्नु बाहेर अरू उपाय छैन । यस्तै हो भने स्वास्थ्य संस्था बन्द गर्नुको विकल्प छैन ।'

चन्दननाथ नपा-७ मिचागाउँस्थित महत स्वास्थ्य चौकीका इञ्चार्ज ऋरिबहादुर रावलले अहिले स्वास्थ्य संस्थामा औषधिको चरम अभाव देखिएको बताए । उनले भने-'सिंहदरबारको अधिकार गाउँघरमा भने उखान नारामै सिमित भएको छ ।'

'पहिले जनस्वास्थ्यले दुई/तीन महिनाको फरकमा औषधि खरिद गरी वितरण गर्ने गरेको थियो तर अहिले चालु आर्थिक वर्षको आठ महिनाको अन्तरालमा नगरपालिकाबाट औषधिको नाममा २ सय चक्की आइरन मात्र प्राप्त भएको छ । एक जना गर्भवती महिलालाई पूर्णडोजका लागि २ सय ४५ वटा आइरन चक्कीको आवश्यक पर्छ तर नगरपालिकाले २ सय चक्की मात्र दियो यो औषधि कसलाई दिनु कसलाई राख्नु समस्या यस्तो छ ।'-उनले भने-'कार्यसम्पादन गर्न निकै समस्या हुने गरेको छ ।'

कार्तिकस्वामी स्वास्थ्य चौकीका इञ्चार्ज विमला महतका अनुसार आइरन चक्की एक महिनादेखि स्वास्थ्य संस्थामा शून्य अवस्थामा रहेको छ । गर्भवती महिला आइरन चक्की माग्न आउछन् तर जनस्वास्थ्य र नगरपालिकाबाट उपलब्ध नभएका कारण वितरण गर्न पाएका छैनौँ उनले भनिन् स्वास्थ्य संस्थाको ढोका खोलेर बस्नुको विकल्प छैन ।

'त्यसैगरी पिल्स पनि विगत ६ महिनादेखि स्वास्थ्य संस्थामा छैन । अहिले चालु आर्थिक वर्षमा औषधि आएकै छैन । गतवर्ष केही बाँकी रहेको औषधिले काम चलेको थियो त्यो पनि सकिँदै गएको अवस्था छ ।'-उनले भनिन्-'औषधिका लागि स्थानीय तहमा पटकपटक पहल गरियो तर अहिलेसम्म उपलब्ध भएको छैन ।' हप्ता दिनभित्र स्वास्थ्य चौकी व्यवस्थापन समिति गठन गर्ने पहल गर्ने र औषधिका लागि व्यवथापन समितिसहित स्थानीय तहमा डेलिगेशनमा जाने तयारी गर्ने इञ्चार्ज महतले बताइन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति गठन भएन

स्वास्थ्य चौकी व्यवस्थापनका लागि स्थानीय तहको निर्वाचनअघि तत्कालीन गाविस सचिवको संयोजकत्वमा समिति गठन भएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा स्वास्थ्य चौकी व्यवस्थापन समिति गठन हुनु पर्ने हो तर हालसम्म भएका छैनन् ।

चन्दननाथ नगरपालिका भित्र पर्ने तलिउम स्वास्थ्य चौकी, कार्तिकस्वामी स्वास्थ्य चौकी र महत स्वास्थ्य चौकीमा हालसम्म पनि व्यवस्थापन समिति गठन गरिएको छैन ।

जनप्रतिनिधि र नगरपालिका स्तरका स्वास्थ्य संयोजकहरूले चासो नदिएका कारण अहिलेसम्म स्वास्थ्य चौकी व्यवस्थापन समिति गठन नभएको स्थानीयबासीले बताएका छन् ।

स्वास्थ्य चौकीबाट औषधि माग फाराम आउँदैनन् 

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका अनुसार जिल्ला स्टोरमा औषधि मौज्दात छ । स्वास्थ्य चौकी औषधिको माग फाराम लिएर आउने गरेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयमा चालु आर्थिक वर्षमा नयाँ औषधि खरिद गरेर जिल्लामा औषधि आइरहेको छ । स्वास्थ्य संस्थामा औषधि छैन भन्नु भन्दा पनि जिल्ला स्टोरबाट औषधि लैजान जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले निर्देशन गरेको छ ।


मानदत्त रावल