सत्य निरूपण आयोगले पीडितहरूको आँसुमा होली खेलेको आरोप

सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् ।

स्थानीय शान्ति समिति तनहुँको आयोजनामा चैत १६ गते दमौलीमा भएको सशस्त्र द्वन्द्वका पीडितहरूको पुनर्मिलन तथा अन्तरघुलन कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीलाई पीडितको आँसुको कुनै मुल्य बोध नभएको आरोप लगाएका हुन् ।

कार्यक्रममा यातना पीडित समाजका अध्यक्ष विष्णुप्रसाद भट्टराईले आयोगका पदाधिकारीहरूले पीडितको आँसुमा होली खेलिरहेको आरोप लगाए । आयोग गठनपछि आफूहरूले न्याय पाउने आशामा वर्षौँ बिताएको भन्दै अहिले आएर आयोगका पदाधिकारी जुँगाको लडाईमा लागेको आरोप लगाए ।

आयोगमा उजुरी दिएकै आधारमा आफूहरूलाई धम्की आउन थालेको भन्दै उनले पिडकको धम्की भन्दा पनि आयोगको गतिविधिले थप पिडा दिएको गुनासो गरे ।

राज्यपक्षबाट पीडित भएकी सीता कैनीले सरकार र सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितहरूको पिडामा खेलवाड गरेको आरोप लगाइन् । उनले राज्यले राहतमा विभेद गरेको भन्दै आफूहरूलाई पनि अन्य शहीद परिवारलाई झैँ तत्कालै १० लाख रुपियाँ दिनु पर्ने माग गरिन् ।

तत्कालीन विद्रोही पक्षबाट पीडित मधु अधिकारीले पनि आफूहरू कतिञ्जेल पिडामा बस्ने भन्दै छिटो न्याय दिन सम्बन्धित निकायलाई अनुरोध गरिन् ।

बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्य शुकबहादुर पन्तले पीडितको आँखामा धुलो हाल्न आयोग गठन गरिएको भन्दै आयोगबाट न्याय पाउने आशा मरिसकेको बताए । तीन पटकसम्म माओवादी नेतृत्वको सरकार गठन भएपनि आफूहरूको पिडा कहिल्यै सम्बोधन गर्न नसकेको भन्दै उनले नेताका छोरा छोरीलाई सगरमाथा चढ्न २ करोड रुपियाँ दिने सरकारले द्वन्द्व पीडितहरूलाई कुनै सम्बोधन गर्न नसकेको गुनासो गरे ।

विद्रोही पक्षबाट पीडित इन्दिरा खनाल र बालकुमारी लोहनीले पनि राहतमा सरकारले विभेद गरेको आरोप लगाए । छोरा छोरीलाई छात्रवृत्ति दिने घोषणा भएपनि १८ वर्षपुगेपछि उक्त छात्रवृत्ति नपाएको भन्दै उनीहरूले 'के द्वन्द्व पीडितका छोराछोरीहरूले उच्च शिक्षा अध्ययन गर्नु पर्दैन ?' भन्ने प्रश्न गरे ।

द्वन्द्वकालीन घाइते विनोद पन्तले पीडितहरूको समस्या समाधान गर्न सरकार असक्षम भएको बताए । सशस्त्र द्वन्द्वमा चार जना सन्तान गुमाएका रिस्तीका होमनाथ अधिकारीले आफ्नो जीवनको साहारा सबै द्वन्द्वमा गुमाइसकेको हुँदा अब आफूलाई जीवन यापन गर्न समस्या भएको गुनासो गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म द्वन्द्व पीडितहरूले न्याय पाउन नसक्ने बताए । पीडितहरूले न्याय पाउन राजनीति सङ्लो हुनु पर्ने भन्दै उनले अब चुनावमा भोट माग्न आउने दलका नेताहरूलाई पीडितहरूले आफूहरूको पक्षमा हिजो के काम गरियो र अब के काम गरिन्छ भन्ने प्रश्न गर्न आह्वान गरे ।


प्रकाशचन्द्र भट्टराई