सडक सवारी नहुँदा मतदानका लागि जोखिम मोल्दै मतदान केन्द्रतर्फ कर्मचारी

  ०७९ मङ्सिर २ गते

सडक सवारी नहुँदा जिल्लाका विभिन्न मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै मतदान केन्द्रमा प्रस्थान गरेका छन् । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा खटिएका हुन् ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले क्षतविक्षत बनाएका बाटोमा जोखिम मोल्दै मतदान केन्द्रतिर खटिनु परेको अदानचुली गाउँपालिका–४ स्थित सुपाखेत आधारभूत विद्यालय बारीगाउँ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुलाल सार्कीले गुनासो गर्नु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक २६ गतेदेखि कर्मचारी खटनपटन गरे लगत्तै उनीहरूले निर्वाचन सामग्री बोकेर लैजाँदा जिल्लाका खार्पुनाथदेखि सर्केगाडको दुल्लीकुनासम्मको बाटो कष्टकर बनेको सार्कीको भनाई छ । ताँजाकोट गाउँपालिका–१ स्थित जनप्रकाश मावि काँडागाउँ मतदान केन्द्रमा चुनाव गराउन खटिएका मतदान अधिकृत कालीबहादुर बुढाको पनि उस्तै गुनासो छ ।

हालसम्म जिल्लाका सातओटै गाउँपालिकाका ५९ वटा स्थायी र एक अस्थायी मतदान केन्द्रका मतदान अधिकृतले निर्वाचन सामग्रीसहित मतपत्र र मतपेटिका बुझेर खटिएको मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

PhotoHumla20221118 (1)

PhotoHumla20221118 (2)

PhotoHumla20221118 (3)

PhotoHumla20221118 (4)

 

 


नन्द सिंह