सडक सञ्जालसँग नजोडिएका ग्रामिणबस्तीमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

  ०७८ भदौ ३१ गते

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको भएपनि जिल्ला सदरमुकामलगायत ग्रामिणबस्तीमा स्टेचरको समेत सुविधा नहुँदा बिरामीहरुले समस्या झेल्नु परेको छ ।

जिल्लाका ग्रामिण गाउँहरुमा अहिलेसम्म पनि यातायातका साधान सञ्चालन गर्नका लागि बाटो निर्माण नभएका कारण स्थानीय बिरामी पर्दा बेकेरै स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने बाध्यता रहेको अमरगढी नगरपालिका–८ लटाउलीका स्थानीय नरेश सार्कीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा कोही बिरामी भएमा डोको तथा काठको स्टेचर बनाएर स्वास्थ्य चौकी तथा अस्पताल लैजानु पर्ने बाध्यता रहेको छ । लटाउली गाउँ जिल्ला सदरमुकामको अस्पतालबाट १५ किलोमिटर मात्रै टाढा रहेको छ । हाम्रो गाउँमा समेत स्टेचरको सुविधा छैन् । दुर्गमका गाउँहरुका बिरामीहरुलाई कति समस्या होला ? ।’

स्थानीय सरकारहरुले महत्वाकाक्षी योजनाहरु बनाए पनि कार्यान्वयन गर्न नसकेका कारण यातायात तथा स्वास्थ्य अधिकारबाट स्थानीयहरु वन्चित हुनु परेको स्थानीय नरेन्द्र भण्डारीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा स्टेचरको सुविधा नहुँदा गम्भिर प्रकृतिका बिरामी तथा गर्भवतिहरुलाई समस्या भएको छ । गर्भवतिहरुलाई समय मै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु समेत भएका घटनाहरु छन् ।’

जिल्लाका ग्रामिणबस्तीहरुमा यातायातको सुविधा नभएका कारण समय मै अस्पताल पुर्‍याउन नसक्दा गर्भवति र बच्चाको ज्यान जोखीममा पर्ने गरेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश बिष्टले बताउनु भयो ।

अमरगढी नगरपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुलाई स्टेचर उपलब्ध गराएको भएपनि केहि स्वास्थ्य संस्थाहरुमा स्टेचर विग्रएकाले चाडै नै नगरपालिकासँग समन्वय गरी स्वास्थ्य संस्थाहरुलाई स्टेचर उपलब्ध गराउने स्वास्थ्य संयोजक बिष्टले बताउनु भयो ।

डडेल्धुरा जिल्ला सदरमुकाममा मात्रै नभइ जिल्लाका अन्य पालिकाहरुमा पनि स्टेचर नहुँदा बिरामीहरुलाई समस्या भएको छ ।

आलिताल गाउँपालिकाका स्थानीयहरुले पनि स्टेचर नहुँदा समस्या भएको गुनासो गरेका छन । सडक सुविधासँग नजोडिएको आलिताल गाउँपालिका–८ को चौडवण्डलेमा कोही बिरामी भएमा डोकोको स्टेचर बनाई स्वास्थ्य संस्थासम्म लैजानु पर्ने बाध्यता रहेको स्थानीय भक्त गाहामगरले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘वर्षातको समयमा खोलानालाका कारण बिरामीहरुलाई स्वास्थ्य संस्थाहरुमा पुर्‍याउनै समस्या हुने गरेको छ ।’

गाउँमा स्टेचर नहुँदा गम्भिर प्रकृतिका बिरामी तथा गर्भवतिहरुलाई स्वास्थ चाैकीसम्म ल्याउन समस्या हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज धनबहादुर क्षेत्रीले बताउनु भयो ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले गाउँमा स्टेचर नहुँदा विरामीलाई स्वास्थ्य संस्था लैजान समस्या भएको गुनासो आएकाले स्टेचर खरिदका लागि प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । अबको एक महिनामा स्टेचर नभएका गाउँहरुमा स्टेचर पुगिसक्ने अध्यक्ष गुरुङले बताउनु भयो ।

photo20210916dadeldhura


भूपेन्द्र बिष्ट