सडक बनेको सात वर्ष सम्म पुल बन्न नसक्दा सर्वसाधारणलाई सास्ती

  ०८१ जेठ ३२ गते

निर्माणाधिन कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास खण्डमा मोटरेवल पुल अझै बन्न नसक्दा सर्वसाधारणलाई सास्ती भएकाे छ। ६ वर्ष अघि निर्माण कार्य सुरु भएको लमाएखोला मोटरेवल पुलको निर्माण कार्य अझै पुरा भएकाे छैन ।

निर्माण कार्य पुरा नभए पछि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालनमा समस्या उत्पन्न भएको छ । फलेवासको देविस्थान र कुर्घालाई जोड्ने गरी लमाएखोलामा निर्माणाधिन मोटरेवल पुलको काम पुरा नहुँदा कुश्मादेखि बुटवल सम्म यात्रा गर्ने यात्रुलाई समस्या भएको फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्रीले गुनासो गर्नुभयो ।

०७५ सालमा निर्माण सुरु भएको उक्त पुल प्राविधिक रुपमा डिजाइन स्टिमेटमा समस्या देखाउँदै निर्माण कम्पनीले पुलको काम बिच मै अलपत्र छाडेको थियो । पुलको निर्माण कार्य गत वर्ष देखि पुनः सुरु भए पनि हालसम्म पनि निर्माण कार्य भने सकिएको छैन ।

उक्त मोटरेवल पुलको नयाँ बाटो गौचन जेभीले निर्माण कार्यको जिम्मेवारी लिएको थियो । २५ मिटर लामो उक्त पुल कुल ५ करोड ६४ लाखको लागतमा निर्माण हुन लागेको हो । पुलको निर्माण कार्य नसकिए पनि उक्त खण्डको सडकको निर्माण कार्य भने सकिएको छ ।

फलेवासको ढिक र कुर्घाको सडक सबै निर्माण सम्पन्न भएको छ । तर, मोटरेवल पुल नबन्दा सडक सञ्चालनमा समस्या सृजना भएको भन्दै स्थानीय बासीले गुनासो गरेका छन् । पुलको निर्माण कार्य नसकिँदा घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता सृजना भएको छ । यसरी घुमाउरो सडक प्रयोग गर्दा झण्डै सात किलोमिटर यात्रा गरेर बिरामी तथा अन्य अत्यावश्यक कामका लागि हिड्नुपर्ने बाध्यता रहेको फलेवास नगरपालिका– ९ का सन्तोष क्षेत्रीले गुनासो गर्नुभयो ।

यो सडकमा पुल निर्माण नहुँदा पर्वतको फलेवास नगरपालिका सँगै महाशिला, विहादी र पैञ्यु गाउँपालिकाका सर्वसाधारणलाई सडक सुविधाको सहज पहुँच हुन सकेको छैन । पुल निर्माणका लागि तत्काल काम अघि बढाउन सुझाव दिएको र निकट भविष्यमा नै पुल निर्माण हुने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो ।


सन्तोष थापा