सडक आश्रित मानवको उद्धार

  ०८१ असार १ गते

Roadman (2)

हनुमाननगर कंकालिनी नगरपालिका-९ स्थित सडकबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका एक सहयोगापेक्षी सडक आश्रित मानवको ०८१ जेठ ३१ गते उद्दार भएको छ ।

मानव सेवा आश्रमको काम र उद्देश्यबारे जानकारी दिने उद्देश्यले हिंडेको इन्सेक सप्तरी प्रतिनिधि नेतृत्वको टोलीले सडकमा फेला पारेको मिन्टु नाम बताउने मानसिक रोगीलाई उद्धार गरेर जनकपुरस्थित आश्रम लगेको हो ।

टोलीमा इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलसहित आश्रमका सचिव सुमन बडतौला, मधेस प्रदेशका संयोजक बिवेक महतोलगायत रहनु भएको थियो । सप्तरीबाट समय समयमा सडक मानवको उद्धार गरेर लैजाने गरेको मानव सेवा आश्रमले यसअघि ०७७ पुस १२ गते इन्सेक सप्तरी प्रतिनिधि पोखरेलको पहलमा १४ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकहरू गरी ३६ जना बेसहारा, असहाय, परिवारबाट परित्यक्त, अभिभावकविहीन, सहयोगापेक्षी सडक मानवलाई एकैपटक उद्धार गरेर लगेको थियो । उनीहरूमध्ये अधिकांश अझै पनि पर्साको वीरगंज र सर्लाहीको हरिवनस्थित मानवसेवा आश्रममा छन् ।

मानसिक स्वास्थ्य बिग्रीएर र परिवारबाट परित्यक्त भएर सडकमा जीउन मर्न बाध्य असहाय र बेसहराहरूको उपचार र नयाँ जीवन प्रदान गर्न सडक मानवमुक्त अभियानमा लागेको मानव सेवा आश्रमले बेसहाराहरूको उद्धार गर्ने गरेको छ । मानव सेवा आश्रमको मुख्य आम्दानीको स्रोत मुठ्ठीदान नै रहेको मानव सेवा आश्रमका सचिव सुमन बडतौलाले बताउनु भयो । मुठ्ठीदानबाहेक जन्मदिन, विवाह वर्षगाठ, विभिन्न संघ संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी र मृतकहरूको सम्झनास्वरुप विभिन्न व्यक्ति तथा संघ संस्थाले आश्रित सडक मानवलाई खाना खुवाउने, सहयोगस्वरुप औषधि, कपडा दिने गरेका छन् ।

हेटौडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले अहिले १९ जिल्लाका २४ सेवा केन्द्रबाट सेवा दिईरहेको छ । मधेस प्रदेशमा जनकपुर, हरिवन र विरगञ्जमा सेवा केन्द्र रहेको छ । हाल देशभर एक हजार ७ सय भन्दा बढी वेसहारा तथा असहायलाई सेवा दिईरहेको संस्थाले २०८२ भित्र नेपालका सडक पेटीलाई सडक आश्रित मानवरहित बनाउने उद्देश्य लिएको छ ।


मनोहरकुमार पोखरेल