सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउनै सास्ती

  ०७८ साउन २९ गते

साफे मार्तडी राजमार्गसँगै स्थानीय सडकहरु एक महिनादेखि अवरुद्ध भई सञ्चालनमा नआएपछि बिरामीलाई स्वास्थ्य सस्था लैजान स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

अविरल वर्षाका कारण साफे मार्तडी राजमार्गसँगै स्थानीय सडकहरुमा पहिरो गएको एक महिना बितिसक्दा पनि सम्बन्धित सरोकारवालाहरुले चासो नदिएपछि बिरामी तथा स्थानीयहरुलाई समस्या उत्पन्न भएको हो ।

०७८ असार महिनादेखि नै सडक अवरुद्ध भएका भएपनि स्थानीय तह र प्रदेश सरकारले खडक खुलाउन कुनै पहल नगरेका कारण उपचारका लागि बिरामीलाई बोकेर अस्पताल लैजानु पर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–७ का स्थानीय बलबहादुर रोकायाले दुखेसो पोख्नु भयो ।

जिल्लाका नौ ओटै स्थानीय तहमा रहेका सडकहरु पूर्ण रुपमा क्षतविक्षत भएका भएपनि सडक खोल्न सरकारले कुनै पहल नगरेका कारण आफूहरुले सास्ती खेप्नु परेको बुढीगंगा नगरपालिका–२ का स्थानीय रमेश थापाले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘सडक अवरुद्ध हुदा बिरामीलाई समयमै अस्पताल लिन सकिएको छैन् । सडक मर्मत गर्न तथा सडकमा आएको पहिरो हटाउन स्थानीय तहबाट कुनै पहल भएको छैन् ।’

एक महिना अगाडीदेखि पहिरोले सडक बन्द भएको भएपनि सडक खुलाउन प्रयास नै नभएका कारण बिरामीलाई बोकेर स्वास्थ्य संस्था पुगाउन समेत समस्या भएको खप्तडछेडेदह गाउँपालिका–१ का स्थानीय दानबहादुर रोकायाले गुनासो गर्नु भयो  ।

जिल्लाका नौ ओटा स्थानीय तहका सडकहरुमा अवरोध आएपछि स्थानीयहरुले बिरामीलाई बोकेर नै उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने गरेको स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो ।

मुख्य सडकमार्ग साँफे मार्तडी सडक र अम्कोटा सडक खण्ड ०७८ असार १ गतेदेखि अवरुद्ध हुदा जिल्ला अस्पताल, बाजुराबाट रिफर भएर जिल्ला बाहिर उपचारको लागि जानुु पर्ने बिरामीलाई समस्या भएको जिल्ला अस्पताल, बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताउनु भयो ।

अविरल वर्षाका कारण पहिरो जाने गरेको कारण खडक अवरुद्ध हुन गएको र पहिरोको जोखिम मोलेर स्थानीयहरुले बिरामीलाई बोकेर स्वास्थ्य संस्था लिनु पर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताउनु भयो ।

गौमुल गाउँपालिका जोड्ने मार्तडी घटमुना सडक धेरै ठाउँमा भत्किएकोले आवतजावतमा समस्या भएको भएपनि स्थानीय तहबाट तत्काल मर्मत गर्न नसकिने भएकोले प्रदेश सरकारलाई सहयोगका लागि अनुरोध गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनु भयो ।

कर्णाली करिडोरमा आएको पहिरो हटाउन पटकपटक डोजर लगाएर सञ्चालनमा ल्याउने प्रयास भइरहेको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीय सडक सञ्चालनमा ल्याउन वर्षातको समयमा सम्भव छैन् । वर्षापछि मात्रै ती सडक सञ्चालनमा ल्याउन सकिने हो ।’

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राजमार्ग तथा स्थानीय सडकहरु सञ्चालनमा ल्याउनका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनु भयो ।

जिल्लाका पूर्बीउत्तरी क्षेत्रका चार स्थानीय तह बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र कर्णाली प्रदेशको हुम्ला र मुुगु  जिल्ला जोड्ने मार्तडी कोल्टि सडक खण्डको ३० किलोमिटर सडकमा पहिरो गएर सञ्चालनमा आउन सकेका छैनन् ।

photo20210813bajura (2)

photo20210813bajura (1)


पदमबहादुर सिंह