सञ्चार सेवा नहुँदा अनलाइन कक्षा सञ्चालनमै कठिनाइ

  ०७८ साउन ३२ गते

परशुराम नगरपालिका–११ स्थित अधिकांश गाउँहरुमा सञ्चार सेवा प्रभावकारी नहुँदा विद्यार्थीहरु अनलाइन कक्षा लिनबाट वन्चित भएका छन् ।

सञ्चार सुविधा भएका ठाउँहरुमा विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी अध्ययन गराइरहेका भएपनि परशुराम नगरपालिका क्षेत्र भित्र इन्टरनेटको सहज पहुँच नहुँदा अनलाइन शिक्षाबाट वन्चित हुन परेको कक्षा नौमा अध्ययनरत छात्रा मनोज महराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ नगरपालिकाको अधिकांश स्थानमा सञ्चार सुविधा तथा इन्टरनेट सेवा छैन् । जसका कारण  अनलाइन कक्षाहरुमा सहभागि हुन सकिएको छैन् ।’

दुई वर्ष अगाडि परशुराम नगरपालिका–११ मा टेलिफोन टावर निर्माण गरेको भएपनि दूरसञ्चार प्राधिकरण, डडेल्धुरा शाखाले लाइन सुचारु नगरेका कारण स्थानीय वासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुका साथै विद्यार्थीहरु अनलाइन कक्षा लिनबाट वन्चित भएका स्थानीय लक्ष्मणदत्त भट्टले बताउनु भयो ।

नेपाल टेलिकम, डडेल्धुराका इन्जिनियर प्रकाश विष्टले टेलिकम टावर निर्माण भइरहेको भएपनि कोभिडका कारण सञ्चार सेवा प्रवाह गर्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाले पनि सञ्चार सेवा विस्तार गर्न अनुरोध गरेको छ । भदौ महिना भित्रै सञ्चार सेवा सुचारु गर्ने गरी काम अगाडी बढाउने योजना बनाएका छौँ ।’

कोभिड माहामारी सुरु भएदेखि नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीहरु पढाईबाट वन्चित भएका स्थानीय शिक्षक गणेश भाटले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘भौतिक रुपमा विद्यार्थीहरुलाई बोलाई कक्षा सञ्चाल गर्न नगरपालिकाले अनुमति दिएको छैन् । अनलाइन कक्षा सञ्चालन गर्न सञ्चार सुविधा चाहिन्छ । तर, गाउँमा सञ्चार सुविधा छैन् । विद्यार्थीहरुको भविष्य अन्यौलमा रहेको छ ।’

परशुराम नगरपालिका क्षेत्र भित्र एक मावि, दुई आधारभूत विद्यालय र तीन प्राथमिक विद्यालय गरी ६ ओटा विद्यालय रहेका छन् । जसमा १२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन छन् ।

कोभिड माहामारी सुरु भएपछि यस क्षेत्रका झण्डै १ हजार २ सय विद्यार्थीहरुको सञ्चार सेवामा पहुँच नभएका कारण पठन–पाठनबाट वन्चित रहनु परेको परशुराम नगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सञ्चार सुविधाका लागि पहल गर्न नगरपालिकालाई पटक–पटक आग्रह गरिरहेको छु । तर, नगरपालिकाबाट कुनै पहल भएको पाइएको छैन् ।’

परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउदले नेपाल टेलिकमसँग छलफल भइरहेकोले केहि महिना भित्रै सञ्चार सेवामा सबैको पहुँच हुने बताउनु भयो ।

नगर क्षेत्र भित्र सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीयहरुको सुरक्षामा समेत समस्या उत्पन्न हुने गरेको इलाका प्रहरी कार्यालय, जोगबुडाका इन्स्पेक्टर रमेश अवस्थीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाका सबै क्षेत्रमा सञ्चार सेवा प्रभावकारी छैन् । गाउँमा भएका घटनाहरुको बारेमा जानकारी गराउन स्थानीयहरु प्रहरी चौकीमै पुग्नु पर्ने बाध्यता छ । जसले गर्दा घटनाका बारेमा ढिलो गरी प्रहरीलाई जानकारी आउने गरेको छ ।’


भूपेन्द्र विष्ट