सङ्घीय गठबन्धनद्वारा संविधान संशोधन प्रस्ताव पेश गर्न सरकारलाई अल्टिमेटम

  ०७३ कात्तिक २९ गते

संविधान संशोधनको माग राख्दै लामो समयदेखि आन्दोलनरत सङ्घीय गठबन्धनले मङ्सिर १५ गतेभित्र संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्न सरकारलाई 'अल्टिमेटम' दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनका नेताबिच कात्तिक २९ गते भएको छलफलमा गठबन्धनले सो अल्टिमेटम दिएको हो ।

सरकारले संविधान संशोधनको गृहकार्य अघि बढाइरहेको र छिट्टै संशोधन प्रस्ताव संसदमा पेश गर्ने जनाइरहेको बेला गठबन्धनबाट यस्तो अल्टिमेटम आएको हो । यसअघि गठबन्धनले कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव पेश नभए आन्दोलन थाल्ने चेतावनी दिएको थिए ।

छलफलको सुरूवातमै प्रधानमन्त्री दाहाले कात्तिक ३० गते संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने बताएपनि गठबन्धनका नेताहरूले आफूहरूसँग पर्याप्त छलफल नगरेको भन्दै केही दिन पछि मात्रै संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्दै मङ्सिर १५ गतेसम्मको समयसीमा तोकेका हुन् ।

छलफलमा गठबन्धनले प्रधानमन्त्री दाहाललाई संविधान संशोधनको विषयमा ज्ञापन पत्रसमेत बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ज्ञापन पत्रमा सबै दलसँग सहमति गरेर मात्रै संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । साथै सङ्घीय आयोग गठन गर्न नपर्ने गरी सहमतिको आधारमा संविधान संशोधन हुनुपर्नेमा गठबन्धनले जोड दिएको छ ।

सरकारले सीमाङ्कन, नागरिकता, भाषा, राष्ट्रिय सभाको प्रतिनिधित्व र न्यायपालिकाका विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको जनाउँदै आएको छ ।


विवेक ढुङ्गाना