सङ्खुवासभामा न्यायिक समितिमार्फत ९९ वटा मुद्दामा मेलमिलाप

सङखुवासभाका १० वटा स्थानीय तहका न्यायिक समितिले हालसम्म ९९ वटा मुद्दामा पीडित र आरोपितबिच मेलमिलाप गराएका छन् ।

न्यायिक समितिमा परेका १ सय ३२ मुद्दामध्ये ३० वटा मुद्दा मेलमिलापका प्रक्रियामा रहेका र चोरीका तीन वटा मुद्दा भने जिल्ला प्रशासन कार्यालयमा पठाइएको न्यायिक समितिले जनाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले न्यायिक समितिलाई दिएको १३ प्रकृतिका मुद्दा फैसला र ११ प्रकृतिका मुद्दा मेलमिलाप गर्न पाउने अधिकारका आधारमा न्यायिक समितिले ९९ वटा मुद्दामा मेलमिलाप गराएका हुन् ।

न्यायिक समितिले गम्भीर प्रकृतिका मुद्दाहरू भने अदालत र जिल्ला प्रशासनमा पठाउने गरेका छन् । न्यायिक समितिलाई दिएको अधिकारका आधारमा घरेलु हिंसा, व्यक्तिगत टकराव र साँधसिमाना जस्ता मुद्दामा मेलमिलाप गराएको सभापोखरी गाँउपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक सीता दहालले बताइन् । हालसम्म न्यायिक समितिमा ५३ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये २८ वटा मुद्दामा मेलमिलाप गराएको दहालले बताइन् ।

धर्मदेवी नगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक शोभा घिमिरेले समितिमा नौ वटा मुद्दा आएकामा सबै मेलमिलाप गराएको बताइन् ।

मकालु गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक चमेली राईले केही मुद्दा समितिमा परेको र तिनीहरूलाई मेलमिलापको माध्यमबाट टुङ्ग्याएको बताइन् । न्यायिक समितिको इजलास नभए पनि मेलमिलापका माध्यमबाट मुद्दा टुङ्गो लगाउने गरिएको उनको भनाई छ । 'कानुन नजानेको हुँदा कठिनाइका बिच काम गरिरहेका छौँ ।'-उनले भनिन् ।

धर्मदेवी नगरपालिकाको न्यायिक समिति संयोजक शोभा घिमिरेले धेरैजसो मुद्दा मेलमिलापका माध्यमबाट टुङ्ग्याउने प्रयासमा आफू रहेको बताइन् । उनका अनुसार समितिमा नौ वटा उजुरी आएका छन् । तिनमा अधिकांश मुद्दा जग्गा र घरेलु हिंसासँग सम्बन्धित रहेको उनले बताइन् ।

'इजलास कोठा पनि छैन । आवश्यक कर्मचारीको पनि व्यवस्था छैन । केही भएका कर्मचारीको भरोसामा काम गरिरहेको छु । सिक्ने क्रममै छु ।'-उनले भनिन्-'सुरूसुरूमा काम गर्न एकदमै गाह्रो थियो । अहिले तालिम लिएपछि केही सहज भएको छ । तर, अझै पूर्ण भने छैन । 'इजलासमार्फत मुद्दा फैसला गर्दा जित्ने खुसी हुन्छन् भने हार्ने निरास हुन्छन्, मेलमिलाप गराउँदा कसैको हारजित भन्ने हुँदैन ।'-उनले भनिन्-'त्यसैले हामीले मेलमिलापलाई बढी जोड दिइरहेका छौँ ।'

भोटखोला गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक पान्जाम भेच्याव भोटका अनुसार हालसम्म भोटखोला गाउँपालिकाको न्यायिक समितिमा कुनै पनि मुद्दा परेका छैनन् । उनले भनिन्-'हालसम्म कुनै पनि उजुरी त परेको छैन । यदि परिहाल्यो भने पनि मेलमिलापको विकल्प छैन ।'-उनले थपिन्-'मुद्दा टुङ्ग्याउने उपयुक्त माध्यम त मेलमिलाप नै हो ।'

जिल्लाका गाउँपालिका तथा नगरपालिकामा मेलमिलाप केन्द्र स्थापना भएपछि मेलमिलाप गराउन सहज हुने न्यायिक समितिका संयोजकहरूको विश्वास छ ।

न्यायिक समितिमा हालसम्म १५ वटा उजुरी आएको जानकारी दिँदै ति सबै मुद्दा मेलमिलाप गराएको मादी नगरपालिका उपप्रमुख तथा न्यायिक समित संयोजक उर्मिला नेपाल सुवेदीले बताइन् ।

चोरीलगायतका मुद्दामा मेलमिलाप गर्न/गराउन नसकेका कारण तीन वटा मुद्दा जिल्ला प्रशासनमा पठाएको सिलिचोङ्ग गाँउपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक लालकुमारी राईले बताइन् ।

हालसम्म पाँचखपन गाँउपालिकाको न्यायिक समितिले २१ वटा मुद्दामध्ये १७ वटा मुद्दामा मेलमिलाप गराएको न्यायिक समिति संयोजक भीमादेवी राईले जानकारी दिइन् ।

यसैगरी चैनपुर नगरपालिकाले १८ वटा मुद्दा मेलमिलापमार्फत टुङ्ग्याएको न्यायिक समितिकी संयोजक मुना श्रेष्ठले बताइन् ।

खाँदबारी नगरपालिकाले १३ वटा मुद्दा मेलमिलाप गरी मिलाएको न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले बताइन् ।


बाबुराम बास्तोला