सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

  ०८० चैत ३० गते

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगबेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न चैत ३० गते सिफारिस समिति गठन गरेको छ ।

चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

सिफारिस समितिका सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।

'२०७९ असारदेखि पदाधिकारीविहीन भएर बेकामे भएका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न एवम् आयोगलाई कामयाबी बनाउन सरकार र राजनैतिक दलहरूले आलटाल गर्दै आए। पीडितको पीडाको सम्बोधनप्रति रत्तिभर जिम्मेवार र जबाफदेही भएनन्।'-द्वन्द्वपीडित सुमन अधिकारी बताउनु भयो ।

इन्सेकले सङ्कलन गरेका द्वन्द्वका बेलामा राज्य पक्षबाट र गैरराज्यपक्षबाट गरिएका हत्या, बेपत्ता र अपाङ्गतासम्बन्धी घटना र घटना विवरण हेर्न यहाँ क्लिक गर्नु होला ।


अनलाइन डेस्क