संसदले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत

  ०७८ वैशाख २७ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव अस्वीकृत भएको छ ।

वैशाख २७ गते बसेको प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित २ सय ३२ जना सांसदमध्ये ९३ जनाले विश्वासको पक्षमा मतदान गरेपछि सो प्रस्ताव स्वीकृत नभएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

कुल सांसद सङ्ख्या २ सय ७५ मध्ये चार जना निलम्बनमा परेका छन् । हाल कायम रहेका २ सय ७१ सांसदमध्ये २ सय ३२ जना उपस्थित रहेकामा विश्वासको विपक्षमा १ सय २४ मत परेको थियो । १५ जना सांसद तटस्थ रहेका थिए । मतदानमा कोभिड सङ्क्रमित सांसदहरूलाई बेग्लै स्थानमा मतदानको व्यवस्था मिलाइएको थियो ।

मतदानअघि संसदमा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो ।


बिमला पौडेल