संशोधन प्रस्तावको विरोधमा लाठी जुलुस, एघारौँ दिन पनि ठप्प

  ०७३ मङ्सिर २५ गते

सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा आन्दोलनमा उत्रिएका गुल्मेलीहरूले मङ्सिर २५ गते लाठी जुलुस निकालेका छन् ।

photo20161210gulmi

एघार दिनसम्म आन्दोलन गर्दा पनि सरकार गुल्मेलीको माग सम्बोधन गर्ने पक्षमा उदासिन देखिएको भन्दै खबरदारी गर्न लाठी जुलुस निकालिएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए ।

मङ्सिर २६ गते मानव साङ्लो बनाएर प्रशासन कार्यालय घेर्ने, मङ्सिर २७ गते विशाल आमसभा गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

सरकारलाई दबाव दिने उद्धेश्यले विरोध स्वरुप गुल्मेली महिलाहरूले हिजो कुचो जुलुस प्रदर्शन गरेका थिए । सरकारले संविधान संशोधन प्रस्तावमार्फत पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा कुचो लिएर सडकमा उत्रिएका हुन् ।

photo20161210gulmi1

अनिश्चितकालिन जिल्ला बन्दले दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संशोधनमार्फत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन प्रयास गरेको विरोधमा गुल्मेली नागरिक मङ्सिर १४ गतेदेखि आन्दोलनमा छन् ।

वर्तमान सरकारले फोहोरी काम मात्र गरेको भन्दै कुचोले बढारेर सफा गर्न साङ्केतिक रूपमा सड्काम उत्रिएको महिला नेतृ विष्णुकुमारी सापकोटाले बताइन् । जिल्ला प्रशासन कार्यालय अगाडिबाट सडक सफा गरेका उनीहरूले बजारका विभिन्न स्थानमा कुचो हातमा लिएर सडक बढार्दै नाराबाजीसमेत गरेका थिए ।


टोपलाल अर्याल