संविधान संशोधन विधेयकमाथि बहस सुरु

  ०७३ पुस १७ गते

सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि आजदेखि बहस सुरु भएको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस सुरु भएको हो ।

निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतले बहस गरे । उनीहरुले संविधानमा सीमाङ्कन गर्न प्रदेशलाई अधिकार हुँदा प्रदेशको सहमतिबिना सीमाङ्कन गर्न नपाइने भएकाले संविधान संशोधनको विधेयक संविधान विपरीत भएको उल्लेख गर्नुभएको थियो ।

अधिवक्ता खड्काले मङ्सिर १५ गते र पूर्वसांसद मञ्चका तर्फबाट पूर्वसांसद विष्णुबहादुर राउतसहित पाँच जनाले संविधान संशोधन गर्ने र सीमा हेरफेर गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नभएको भन्दै गत मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतले गत मङ्सिर २३ गते कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफलका लागि पुस १७ गतेलाई  बोलाइएको थियो । पुस १८ गते सरकारको पक्षबाट बहस हुनेछ ।


अनलाइन डेस्क