संरक्षणको अभावमा करोडौँ लगानीका स्वास्थ्य संरचना र ल्याब जीर्ण

  ०८१ पुस २९ गते

कोरोना महामारीका समयमा राज्यको करोडौँ रकम खर्च गरेर निर्माण गरिएका संरचना तथा ल्यावहरु उचित संरक्षणको अभावमा अलपत्र अवस्थामा पुगेका छन् । सदरमुकाम तानसेनसहित अन्य स्थानीय तहहरूमा बनाइएका कोभिड ल्याब, आइसोलेसन सेन्टर र क्वारेन्टाइन संरक्षण बिहीन हुनुका साथै जीर्ण हुने अवस्थामा पुगेका छन् ।

तानसेनको धोबीधारामा दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरिएको कोभिड ल्याब तीन वर्षदेखि अलपत्र अवस्थामा छ । सङ्क्रमण घटेपछि कोरोना जाँच ठप्प छ । दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र बनेका छन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको करोडौँ खर्च गरेर सञ्चालन गरिएको कोभिड ल्याबलाइ अन्य काममा प्रयोगमा ल्याएर राज्यको लगानी खेर जानबाट रोक्ने काममा कसैको ध्यान छैन । पाँच वर्षअघि केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा वि.स. २०७७ असोजमा कोभिड ल्याब सञ्चालनमा आएको थियो । कोरोना सङ्क्रमण कम भएपछि उक्त ल्याबको संरक्षणमा कसैको पनि ध्यान नगएको मानवअधिकार रक्षक संजाल पाल्पाका संयोजक भगवान भण्डारीले बताउनुभयो ।

कोरोनाको आधुनिक ल्याब कक्ष निर्माण, कर्मचारीका लागि आवश्यक कक्ष निर्माण, तत्कालीन जिविसको पुरानो भवन मर्मतसुधार, फर्निचर सामग्री, थ्रिफेज विद्युत् बिस्तारलगायतमा दुई करोडभन्दा बढी सरकारी रकम खर्च भएको थियो । पाल्पा अस्पतालका ल्याब शाखाका प्रमुख विष्णु गैरेले कोभिड ल्याबबाट प्रयोग गर्न मिल्ने आवश्यक सामग्री हामीले पाल्पा अस्पतालमा ल्याएर प्रयोग गरिएको र मुख्य ल्याबका उपकरण र अन्य सामग्री अझैँ त्यही रहेको बताउनु भयो ।

Photo13012025Palpa

Photo13012025Palpa1

Photo13012025Palpa2


यज्ञमूर्ति तिमिल्सिना