संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयन जिल्ला निर्देशक समिति गठन, इन्सेक सदस्यमा चयन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि तनहुँमा जिल्ला निर्देशक समिति ०८० कात्तिक १९ गते गठन भएको छ  । समितिको सदस्यमा इन्सेक प्रतिनिधिलाई चयन गरिएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा तनहुँका १० ओटै स्थानीय तहका प्रमुखहरु, चार ओटै सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सरकारी वकिल कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास कार्यालय, दमौली अस्पतालको ओसिएमसीका प्रमुखहरु, इन्सेक प्रतिनिधि, गैसस महासंघ, पत्रकार महासंघ, महिला मानवअधिकार रक्षक सन्जाल, राष्ट्रिय अपाङ्ग महासंघ, जिल्ला स्तरीय द्वन्द्व पीडित समाज, तनहुँ उद्योग वाणिज्य संघ, नेपाल बार एसोसियन तथा जिल्ला बाल अधिकार समितिका अध्यक्षहरु समितिको सदस्य रहेका छन् । निर्देशक समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहेका छन् ।

जिल्ला निर्देशक समितिले राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नकालागि स्थानीय तहहरूबीच समन्वय गर्ने, स्थानीय तहहरूभित्र सञ्चालित कार्ययोजनासँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्ने काम गर्दछ ।

त्यस्तै राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहमा प्राप्त सुझावहरू प्रदेश र राष्ट्रिय निर्देशन समितिमा पठाउने र कार्ययोजनासम्बन्धी प्रगति प्रदेश र राष्ट्रिय निर्देशन समितिमा पठाउने काम गर्नेछ ।

समिति गठन तथा कार्ययोजनासम्बन्धी छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले समितिले राज्यका निकायहरूमा महिलाको उल्लेख्य सहभागिता भएता पनि उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चिता गर्न, राज्यका अन्य निकायहरू, जस्तो सुरक्षा, सञ्चार, उद्योग, व्यापार, निजी क्षेत्र र अन्य विभिन्न पेशागत क्षेत्रहरूमा समेत महिलाको सहभागिता नभएको हुँदा त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्नु पर्ने बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई