स्वास्थ्यचौकीमा खानेपानीको अभाव, कर्मचारी र सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्यचौकीका कर्मचारी र सेवाग्राहीले सास्ती खेप्नु परेको हो । स्वास्थ्यचौकीमा विगत सात महिनादेखि खानेपानीकाे समस्या छ ।

गाउँपालिका केन्द्र समेत रहेको उक्त स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएपछि हाल बर्थिंङ सेन्टरमा सुत्केरी हुँदै आएकी सुत्केरीले सास्ती खेप्नु परेको छ । गत साउनदेखि यता स्वास्थ्य संस्थामा १ सय ९२ जना सुत्केरी भएका छन् । सबैलाई पानीको व्यवस्था नभएपछि अर्को वडा नम्वर २ बाट ग्यालेनमा ल्याएको पानी प्रयोग गर्नु पर्ने बाध्यता रहेको उक्त संस्थामा सुत्केरी भएकी जुनदेखि ऐडीले गुनासो गर्नुभयो ।  स्वास्थ्यचौकीको धारामा पानी नआएपछि लुगा धुन र पिउनलाई निकै कठिनाइ भएको उहाँले बताउनुभयो ।

त्यस्तै गरी , सोही स्वास्थ्य संस्थामा सुत्केरी भएकी अर्की सुत्केरी कनकौँरा रावलले पनि उस्तै समस्या भएको बताउनु भयो। उक्त स्वास्थ्य संस्थामा पानीको अभाव भएको भन्दै वडाध्यक्ष दिल बहादुर फडेरालाई पहलका लागि अनुरोध गर्दा समेत सुनुवाइ नगरेको सोही स्वास्थ्यचौकीकी निमित्त प्रमुख अनमी सुस्मिता फडेराले बताउनुभयो ।

विशेष गरी उक्त स्वास्थ्य संस्थाको बर्थिंङ सेन्टरमा पानीको अभाव हुँदा बाहिरबाट आएका सेवाग्राहीलाई समस्या हुने गरेको अनमी फडेराको भनाइ छ । सो विषयमा वडा वडा अध्यक्ष फडेरासंग बुझदा उहाँले अविरल वर्षाले मुहान बगाएपछि समस्या भएको बताउनुभयो । यसका लागि आफूले समस्या समाधानका लागि प्रयास गरिरहेको अध्यक्ष फडेराले बताउनुभयो ।


नन्द सिंह