शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने बाध्यताले पढाई छुट्ने गरेको विद्यार्थीहरुको गुनासो

  ०८१ कात्तिक ६ गते

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरुले सास्ती खेप्नुपरेको छ ।

विद्यालयमा अध्ययनरत ३ सय १० जना विद्यार्थीका लागि एउटा मात्रै शौचालय निर्माण गरिएको र शिक्षक तथा विद्यार्थीले सोही शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने बाध्यताले विद्यार्थीको पढाई समेत प्रभावित हुनेगरेको छ ।

विद्यालयमा एउटा मात्रै शौचालय सञ्चालनमा रहेकोले शौचका लागि पालो कुर्दा आधा पढाई नै छुट्ने गरको कक्षा ८ मा अध्ययनरत छात्र हरिष थापाले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘छात्रछात्राका लागि छुट्टै शौचालय छैन् । सबैले एउटै शौचालय प्रयोग गर्नु पर्छ । पालो पर्खन लाइनमा बस्नु पर्ने भएकाले कुनै दिन आधा घण्टा बढी नै पालो कुर्न मै समय बित्छ । शाँैचालय प्रयोग गर्न पालो कुर्दा अधिकांश दिन पढाई छुट्ने गरेको छ ।’

एउटा मात्रै शौचालय हुनाले पालो नपाउँदा दिसापिसाव गर्नका लागि खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा कविता धामीले दुखेसो पोख्नु भयो । यसरी खुला ठाउँमा शौचालयको लागि टाँढाटाँढा जाँदा पठनपाठनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

महिनावारीको समयमा बढी सरसफाइ गर्नु पर्छ भन्ने कुरा पढेको भए पनि विद्यालयमा शौचालयको समस्या हुँदा आफूले व्यवहारमा उतार्न नसकेको सोही विद्यालयमा अध्ययनरत छात्रा गीता धामीले गुनासो गर्नु भयो ।

विद्यालयमा एउटा मात्रै शौचालय रहेकोले विद्यार्थी तथा शिक्षकहरुले पालो कुरेर प्रयोग गर्ने गरेको र उक्त शौचालय पनि ०७५ सालमा विल्ड अन संस्थाले निर्माण गरेको विद्यालयका प्रधानध्यपक गणेशप्रसाद पन्तले बताउनु भयो ।

विद्यार्थी अनुपातमा शौचालय नभएका कारण लामो समयदेखि विद्यार्थी, शिक्षक र कर्मचारीहरुले समस्या भोग्दै आउनुभएको बताउँदै नजिक घर भएका विद्यार्थीहरु शौच गर्न घरमा जानु पर्ने बाध्यता रहेको र टाँढा घर भएका अन्य विद्यार्थीहरु खुल्ला ठाँउमा शौच गर्न जादाँ पढाईमा पनि समस्या उत्पन्न भएको प्राधानाध्यापक पन्तले गुनासो गर्नु भयो । समस्या समाधानको लागि नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि आश्वासन दिने काम बाहेक शौचालय निर्माणका लागि बजेट विनियोजन हुन नसकेको उहाँले भनाइ छ ।

विद्यालयमा शौचालयको अभावले विद्यार्थीहरुको पठनपाठन प्रभावित हुदै आएको जानकारी प्राप्त भएपछि थप शौचालय निर्माणका लागि नगरपकालिकासँग पहल गरिएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले बताउनु भयो ।


लिली कुँवर