शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

  ०७९ जेठ ३० गते

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तकहरु नपुगेकाका कारण जिल्लाका अधिकांश विद्यालयहरु बन्द रहेका छन् ।

असार महिनामा विद्यार्थीहरुको त्रैमासिक परीक्षा गर्नु पर्ने भएपनि पाठ्यपुस्तक अभावमा विद्यार्थीहरुलाई पठन पाठन गर्न नसक्दा समस्या भइरहेको महेन्द्र माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताउनु भयो ।

विद्यार्थी भर्ना अभियानका बेला स्थानीय तहको निर्वाचन भएका कारण विद्यार्थी भर्ना अभियान प्रभावकारी हुन नसक्दा अधिकांश विद्यार्थीहरु भर्ना हुनबाट वञ्चित हुनु परेको सरस्वति प्रावि नवदुर्गा गाउँपालिका–१ गौनेलाका प्रधानाध्यापक सुदुमा कुमारी जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गत वर्ष कोभिडका कारण प्रभावित भएका विद्यालयहरु यस वर्ष पाठ्यपुस्तककहरु समयमै नपुग्दा बन्द भएका छन् ।’

विगतका वर्षहरुमा महामारीका कारण विद्यालय बन्द हुँदा शिक्षा क्षेत्र समस्या परेको र यस वर्ष शिक्षा क्षेत्रलाई सुधारउन्मूख बनाउनका लागि सरकारले समयमा नै पाठ्यपुस्तकहरु छपाई गरी देशभरीका विद्यालयहरुमा पुर्याउनु पर्ने भएनि हालसम्म पाठ्यपुस्तकहरु नपुग्दा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भुवनेश्वरी माध्यमिक विद्यालय परशुराम गाउँपालिका–५ परीगाउँका प्रधानाध्याक डम्बर थ्वालले बताउनु भयो ।

जिल्लाका अधिकांश विद्यालयका लागि पाठ्यपुस्तकहरु आइसकेको र स्थानीय तहहरुमा पाठ्यपुस्तकहरु पठाउने काम भइरहेको जिल्ला शिक्षा समन्वय इकाई, डडेल्धुराका इकाई प्रमुख नारद जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक पुग्न ढिलाई भएको हो । अब पाठ्यपुस्तकहरु आइसकेका छन् । हालसम्म सञ्चालनमा आउन नसकेकका विद्यालयहरुलाई यथासिघ्र सञ्चालन गर्न निर्देशन दिएका छौँ ।’

आधारभूत र माध्यमिक गरी १ सय ५३ ओटा विद्यालय रहेको यस जिल्लामा ९३ विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको र जिल्लाका ६० विद्यालयहरुमा अझै पनि पाठ्यपुस्तक पुग्न नसक्दा विद्यालयहरु सञ्चालनमा समस्या भइरहेको इकाई प्रमुख जोशीले जानकारी दिनु भयो ।

पाठ्यपुस्तक पुग्न बाँकी रहेका विद्यालयहरुमा पनि अबको केही दिन भित्रै पाठ्यपुस्तकहरु पुग्ने र  नियमित रुपमा पठनपाठन संञ्चालन हुने समन्वय ईकाईले जनाएको छ ।

नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने हक उल्लेख गरिएको भएपनि जिल्लाका अधिकांश विद्यालयहरुमा पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित भएका छन् ।


भूपेन्द्र विष्ट