शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म विद्यालय खुलेनन्

शैक्षिक सत्र सुरु भएको तीन महिना बितेपनि हुम्ला जिल्लाको सदरमुकामबाट करिव चार दिन लाग्ने ५२ कोष टाढा रहेको नामखा गाउँपालिकाको लिमीमा रहेका तीन ओटै विद्यालय जेठ ९ गतेसम्म खुलेका छैनन् ।

लिमीका तीन ओटै विद्यालयमा शिक्षकको उपस्थिति नभएपछि त्यहाँका विद्याथीहरू पठनपाठनबाट वञ्चित रहेको लिमीका स्थानीयबासी छिरिङ्पाल्जोर लामाले गुनासो गरे ।

सो गाँउपालिकाको लिमीमा हिमशिखर प्रावि, भृकुटी प्रावि र सुनखानी आधारभुत प्रावि गरी तीन ओटा विद्यालय रहेको विद्यालयका श्रोत व्यक्ति गङ्गाप्रसाद भट्टले बताए । भट्टका अनुसार एउटा विद्यालयमा चार जनाको दरले दरबन्दी रहेको भएपनि यतिखेर तीनओटै विद्यालयमा एक जना शिक्षकसमेत छैनन् ।

आफूले उक्त विद्यालयका शिक्षकलाई सदरमुकाममा देखेपछि विद्यालयमा जान अनुरोध गरेपनि शिक्षकहरू विद्यालयमा नगएको श्रोतव्यक्ति भट्टले बताए ।

एक वर्षा १ सय ८० दिन विद्यालय सञ्चालन हुनु पर्नेमा लिमीका तीन ओटै विद्यालयमा वर्षमा करिव ९० दिन मात्र विद्यालय खुल्ने स्थानीयबासी नुर्वु तामाङले गुनासो गरे । सो विद्यालयका अभिभावक भन्छन्-'आजसम्म विद्यालय नखुलेपछि बालबालिकाहरूले कसरी परीक्षा दिन सक्छन ?'

जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले विद्यालयमा नजाने शिक्षकलाई कारबाही गर्न प्रकृया अगाडि बढाउने आश्वासन दिए ।


नन्द सिंह