शैक्षिक सत्र सुरु भएको एक महिनामा पनि विद्यार्थीले पाठ्य पुस्तक पाएनन्

  ०७९ जेठ २९ गते

सूर्यविनायक नगरपालिका–८ सिपोडलस्थित गणेश माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कमल थापाले शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि अझै पुस्तक पाएका छैनन् ।

नजी विद्यालयमा पढ्नेहरूले निजी पब्लिकेशन हाउसको पुस्तक पढे पनि सामुदायिक विद्यालयमा अध्ययनरत थापाले भने आफूले पाउने आधा भन्दा बढी किताब पाउन सकेका छैनन् ।

उनले मात्रै होइन सूर्यविनायक नगरपालिकामा अध्ययनरत अधिकांश विद्यालयका विद्यार्थीले पुस्तक नपाएको गुनासो आउने गरेको नगरपालिकाका शिक्षा शाखाकी अधिकृत सरस्वती कोइरालाले बताउनु भयो ।

उहाँले जनक शिक्षामै पुस्तक लिन पठाउँदा पनि सबै पुस्तक नपाएको गुनासो आएको गर्नु भयो ।

यस वर्षको शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि विद्यार्थीको हातमा पाठ्य पुस्तक प्राप्त हुन नसक्दा भक्तपुरमा मात्र होइन देशभर विद्यालय तहको पुस्तक अभाव भएको छ ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्य पुस्तक छपाई एवम् वितरणको जिम्मा पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर पाठ्य पुरस्तक अभाब भएको हो ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्य पुस्तक छाप्दै आएको छ ।

विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्ष अगाडि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाईको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३० लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६९ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनु भयो ।

जनक शिक्षाले विद्यालय तहको ८६ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १४ प्रशितत छपाई भइरहेको बताउँदै उहाँले भन्नु भयो, “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६९ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार दोस्रो सातासम्म छपाई सक्छौँ र अबको एक महिना भित्र सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।”

केन्द्र बिक्रेता मार्फत ७७ ओटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको भन्दै उहाँले काठमाडौं उपत्यका भन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउनु भयो ।

Bhaktapur

बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइ रहेको बताउनु भयो ।

केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाई हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो, “शैक्षिक सत्र सुरु हुनु भन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनु पथ्र्यो, यस वर्ष चुनाबले गर्दा जेठ ९ गतेबाट मात्रै पुस्तक वितरण सुरु भयो, केही कक्षाका सेठमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ ।”

कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उहाँले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी उहाँले गर्नु भयो ।

यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा पठनपाठन गराएकाले पनि केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नु पर्ने अबस्था आएको उहाँको भनाइ छ ।

कागजको नियमित आपूर्ती नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवम् छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्य बताउनु हुन्छ ।

अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक १ लाख ५ हजार थान पुस्तक छाप्दै आएको उहाँले बताउनु भयो ।

चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता असोज २४ गते नै कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भएपछि कागज आपूर्तिमा समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ ।

केन्द्रले पुस्तक छपाईमा ढिलाई गरे छि सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो ।


रमेश गिरी