शुद्ध खानेपानीबाट स्थानीय वञ्चित

  ०७९ चैत १० गते

गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् ।

विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले दुखेसो पोख्नु भयो ।

गन्यापधुरा गाउँपालिकाका गौलीगाउँ, छिप्पला, सकायल लगाएतका स्थानीयलाई एक ग्रागी पानीको जोहो गर्न घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको रावलले गुनासो गर्नु भयो ।

photo20230322dadeldhura (1)

उहाँले शुद्ध पानीको अभावमा खोलाको पानी प्रयोग गर्दा बालबालिका, अशक्त र ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा समेत समस्या उत्पन्न भइ झाडापखाला लगायतका संक्रमणका रोगहरुबाट पीडित हुनु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हिउँद होस् की बर्खा यहाँका नागरिकका लागि शुद्ध पिउने पानी सपना जस्तै बनेको छ । महिला, बालबालिका सबैसँगै पानी भर्न जान्छन् । पानी भर्नका लागि स्थानीयहरुबिच झकडा समेत हुने गरेको छ ।’

तीन गाउँका करिब २ सय ५० परिवार लामो समयदेखि शुद्ध खानेपानीबाट वञ्चित हुँदै आएका छन् । गाउँमा तीन ओटा धारा मात्रै छन ्। धारामा दैनिक एक घण्टा पानी आउने गरेको छ ।

धारामा आएको पानी भर्न सबैको पालो नआउने कारण डोकोमा ग्रागी बोकेर डेढ घण्टाको पैदल हिडेर सिमल खोलामा पानी लिन पुग्नु पर्ने बाध्यता रहेको स्थानीय हरिनादेवी रावलले गुनासो गर्नु भयो ।

‘पानी भर्नको लागि लाइनमा बस्नु पर्छ । कहिलेकाँही त बालबालिका पानी भर्नकै लागि दिनभर लाइन बस्दा विद्यालयमा समेत जान पाउँदैनन्,’ उहाँले भन्नु भयो, ‘लुगा कपडा धुनदेखि लिएर गाइभैसींको लागि खुवाउन समेत पानीको समस्या झेल्नु परेको छ ।’

photo20230322dadeldhura (2)

गाउँमा पिउने पानीको समस्या भएपछि रमाइल खोलाबाट पानी ल्याउने योजना रहेको र यसका लागि १० लाख रूपियाँ बजेट छुट्याइएको गन्यापधुरा गाउँपालिका–३ का वडाध्यक्ष चक्रबहादुर देउवाले बताउनु भया ।

गाउँसम्म पानी पुर्याउनका लागि बजेट अभाव भएकोले थप बजेट व्यवस्थापनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरिरहेको समेत वडाध्यक्ष देउवाले बताउनु भयो ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भए पनि छिप्पलाबासी दुषित पानी पिउन बाध्य भएका छन् ।


शेरबहादुर भण्डारी