शुद्ध खानेपानीको पहुँचबाट वन्चित भएको स्थानीयको गुनासो

  ०७७ वैशाख २ गते

जिल्लाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयहरुले आफूहरु शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् ।

सुख्खायाम सुरु भएसँगै समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्दै गएको र समस्या समाधानका लागि अन्य वैकल्पिक उपाय नभएपछि स्थानीयहरुलाई खानेपानीको चरम अभाव भएको हो ।

लेकम गाउँपालिका–२ कुणीमा १२ किलोमिटर टाढा दोबाटाको मुहानबाट पानी ल्याउने गरिएको भएपनि दुई महिनादेखि धारामा पानी आउन छोडेपछि समस्या भएको स्थानीय मोहनदेव भट्टले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘दोबाटोबाट आएको पानी पिउन समेत पुग्दैन् । सरसफाइन गर्न, खाना पकाउन र गाइभैसीका लागि पानी नै पुग्दैन् । स्थानीय खोलामा समेत पानी छैन् । गाईभैसी र मानिसले पिउनको लागि पनि चमेलियाबाट घण्टौँ लगाएर पानी बोक्नु पर्ने बाध्यता आएको छ ।’

मालिकार्जुन गाउँपालिका–२ न्वालपानी क्षेत्रमा पानी नहुँदा एक घण्टा हिडेर पानी बोक्नु पर्ने बाध्यता रहेको स्थानीय धनसिह धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘चैत महिना सुरु भएदेखि नै गाउँ नजिकका मुहान सुकेका छन् ।’

तीन तहको सरकार भएपनि अहिलेसम्म आफूहरुले खानेपानी समेत सहज रुपमा पाउन नसकेको मैखोलीका स्थानीय लिलाधर जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘संविधानले स्वच्छ सफा पानीको ग्यारेन्टी गरेको छ । तर, हामीले खानेपानीको सुविधा पाउन सकेका छैनौँ । गाउँमा पानी नै नहुँदा दर्जनौ परिवार यो क्षेत्रबाट तराई बसाई सरिसकेका छन् ।’

नजिक भएका पानीका मुहान सुकेपछि घण्टौँ हिडेर पानी बोक्नु परेको शैल्यशिखर नगरपालिका–७ का पुष्पराज जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘घण्टौँ हिडर पानी लिन जाँदा समेत पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।  झण्डै ५० बढि परिवारले अहिले खानेपानीको समस्या भोग्नु परेको छ ।’

गाउँमा खानेपानीका धेरै योजनाहरू निर्माण भएपनि सुख्खायाममा मुहान नै सुक्दा समस्या समाधान हुन नसकेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष जयराज जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पाँच वर्ष अघिसम्म प्रशस्तै पानी पाइने मुलहरूमा अहिले पानीको मात्रा घटदै गएको छ । केही मुहानहरु सुकिसकेका छन् । जसको कारण पानीको आपुर्ति हुन सकेको छैन् ।’

मालिकार्जुन गाउँपालिकाको भगवती, सिराड, न्वालपानी, हुनैनाथ, लेकम गाउँपालिकाको कुणी, कुसकडा, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, मैखोली, उचाकोट, बडीपुर लगायतका ४ सय बढि बस्तीहरूमा खानेपानीको समस्या रहेको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यस क्षेत्रमा वर्षौँदेखि खानेपानीको समस्या छ । बर्खामा पानीका मुहान सुचारु भएपनि हिउँदमा सुख्खा हुने गरेको छ । वैकल्पिक उपायका लागि प्रयास भइरहेको छ ।’

लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको खानेपानी समस्या समाधान गर्न चालु आर्थिक वर्षबाट बृहत कुणी खानेपानी योजना सुरु हुने तयारीमा रहेको लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘संघीय सरकारले लेकमलाई सुख्खाग्रस्त क्षेत्र तोकेर खानेपानीको योजना तयार गरेको छ । निकट भविष्यमै खानेपानी समस्या समाधान हुन्छ ।’


नरेन्द्रसिह कार्की