शुद्ध खानेपनी वितरण सम्बन्धमा अदालतको आदेश पालना नभएको भन्दै अवहेलनाको मुद्दा दर्ता

  ०७९ असार ७ गते

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी लामो समयदेखि धमिलो आएकोले शुद्ध खानेपानीको माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा परेको मुद्दाको फैसला कार्यान्वयन नभएपछि पुनः अवहेलना मुद्दा दर्ता भएको छ ।

नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्थाका लागि उच्च अदालत पोखरा बागलुङ इजलासले ०७८ मङ्सिर २२ गते बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नगर खानेपानीलाई पाँच बुँदे परमादेश जारी गरेको थियो ।

मुद्दाका प्रतिवादी बागलुङ नगर खानेपानी, जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाले अदालतको फैसला कार्यान्वयन नगरेको र अवज्ञा गरेको भन्दै ०७९ असार ६ गते उच्च अदालत पोखरा बागलुङ इजलासमा अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

अदालतले गरेको आदेशलाई सरोकरावाला निकायहरुले बेवास्ता गर्दै बागलुङ बजारबासीलाई वर्षाैँदेखि धमिलो र फाहोर पानी वितरण गरिरहेको भन्दै अधिवक्ता रमेश बहादुर खड्काले अदालतको अवहेलनामा मुद्दा दर्ता गराउनुभएको हो ।

अधिवक्ता खड्काले अदालतको परमादेश पालना नगर्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, बागलुङ नगरपालिका, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जिल्ला जलस्रोत समितिका संयोजक प्रमुख जिल्ला अधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराउनुभएको छ ।

अदालतको आन्तरिम आदेश र फैसला कार्यन्वयनमा नआएको भन्दैै त्यस उपरका सरोकारवाला निकायलाई अवहेलनामा मुद्दा दर्ता गरिएको हो ।

बागलुङ बजारमा लामो समयदेखि बर्खाको समयमा धमिलोपानी वितरण हुँदै आएको छ । खानेपानी शुद्धिकरणको समय नगर खानेपानीसँग कुनै संयन्त्र नभएको र खानेपानीको परीक्षणका क्रममा दिसामा पाइने ‘कोलिफर्म’ नामक जीवाणु पानीमा भेटिँदै आएको खड्काले बताउनु भयो ।

खानेपानी शुद्धिकरण गरेर वितरण नहुँदा झाडापखला र छालासम्बन्धी रोग समेत लाग्दै आएको भन्दै उपभोक्ताहरूले यसअघि जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका र नगर खानेपानीलाई ज्ञापनपत्र बुझाएका थिए ।


सिर्जना पन्त