शिशु हत्याको कसुरमा जन्मकैदको फैसला

नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले 'अवैध सम्बन्ध'बाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित असार १९ गते जन्मकैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

शिव व्यवसायिक माध्यमिक विद्यालय कालेगाउँमा कृषि जेटिएमा अध्ययनरत सविता भेरी नपा-१ रावतगाउँमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार डेरामा बस्ने क्रममा 'अवैध रूपमा' गर्भवती भएकी उनले ०७५ वैशाख २६ गते बच्चा जन्माएकी थिइन् ।

उनले उक्त बच्चाको हत्या गरेर पलाष्टिकले बेरेर पोको पारी भेरी नदीमा फालेकी थिइन् । घटना लगत्तै सवितालाई प्रहरीले सोहीदिन गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पताल जाजरकोटमा वैशाख २६ गते गरिएको थियो ।


दिनेशकुमार श्रेष्ठ