शिशु र सुत्केरीका लागि शैयाको व्यवस्था

भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइँमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था गरेको हो ।

केही दिनअघि अनौपचारिक क्षेत्र सेाव केन्द्र (इन्सेक) अनलाइनमा शिशु र सुत्केरीको भुइँमै उपचार गराइरहेको समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले शैयाको व्यवस्था गरेको हो ।

भरतपुर अस्पतालका मेसु डा. रुद्र मरासिनीले तत्कालका लागि २० ओटा शैया व्यवस्थापन गरिएको बताए । 'अहिलेलाई जति पुग्छ त्यति गरेका छौं,-उनले भने,-'बिरामीले दुःख नपाउन् भनेर भर्‍याङमुनी पनि शैया विस्तार गरेका छौँ ।'

शिशु र सुत्केरी भुइँमै उपचार गर्न बाध्य भनी समाचार प्रकाशनमा आएपछि अस्पताल प्रशासनले यस विषयमा तदारुकता देखाएको हो । विभिन्न वार्डमा प्रयोगविहीन अवस्थामा रहेका शैयाहरु प्रयोगमा ल्याइएको उनले बताए ।

हाल भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भुइँमै उपचार गराउन बाध्य छन् । दैनिक ६० जना सुत्केरी हुने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जनाए ।


दिपेन्द्र अधिकारी