शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सास्ती

बागमती प्रदेशका अधिकांश जिल्लामा ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ ।

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्लामा रहेको सबै स्थानीय तहका ३ सय ९५ ओटा अस्पताल मध्ये चार ओटा अस्पताल शिलान्यास गरिएको थियो । जसमा शैलुङ गाउँपालिकामा पाँच बेडको अस्पताल निर्माण सम्पन्न भई कोभिड सङ्क्रमणका समयमा कोभिड अस्पतालका रूपमा सञ्चालन गरिएको र एक जना डाक्टरको दरबन्दी सहित अस्पताल सञ्चालनमा रहेको गाउँपालिका योजना शाखा प्रमुख बलराम पौडेलले बताउनु भयो । भीमेश्वर नगरपालिकामा १७ करोडको लागतमा निर्माण कार्य भइरहेको र सो अस्पतालको निर्माण प्रगती ९० प्रतिशत सम्पन्न भएको नगरपालिकाका इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिनुभयो । तामाकोशी गाउँपालिकामा सोही कार्य अन्तर्गतको वडा नं. ४ मालुमा १० बेडको १४ करोड ५७ लाख लागतको अस्पतालको निर्माण प्रगति अन्तिम चरणमा पुगेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताउनु भयो । बैत्यश्वर गाउँपालिकाको इन्जिनियर युधिष्ठिर केसीका अनुसार १८ करोड लागतमा १५ बेडको अस्पतालको ४० प्रतिशत कार्य प्रगति भएको बजेट भुक्तानी हुन नसक्दा काम रोकिएको र सम्झौता अवधि ०८० असारमा सकिएको र म्याद थपको काम पनि नभएको बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार तत्कालीन प्रधानमन्त्रीबाट सिन्धुपाल्चोक जिल्लामा १२ ओटा नयाँ निर्माण गर्न ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू इन्द्रावती गाउँपालिकास्थित नवलपुर अस्पताल बाहेक अरु निर्माण हुन सकेका छैनन् । जिल्लामा रहेका १२ ओटा स्थानीय तहमा एक/एक ओटा अस्पताल निर्माण गर्ने भन्दै काठमाडौँमा बसेर एकैसाथ शिल्यान्यास गरे तापनि शिल्यान्यास गरिएका ११ ओटा अस्पताल आर्थिक श्रोतको अभावमा सम्पन्न हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजाराम कार्कीले इन्सेकलाई बताउनु भयो  ।

रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा अस्पतालको शिलान्यास भयो । बागमती प्रदेशभरका स्थानीय तहमा अस्पताल शिलान्यास गरेकोमा पाँच ओटा गाउँपालिका रहेको रसुवामा दुई ओटा अस्पताल निर्माण थालनी भएको छ । नौकुण्ड गाउँपालिकामा पाँच सैया स्थानीय अस्पताल निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनु भयो । क्रम गत योजना अन्तर्गत वर्षेनी बजेट आउने र भवन थप निर्माणको काम भइरहेको छ । यस वर्ष भने सरकारले कम बजेट पठाएकोले पुरा हुन नसकेको हो । गोसाइकुण्ड गाउँपालिका–६, धुन्चेमा रसुवा जिल्ला अस्पताल आफ्नै स्थानीय तहमा परेकोले अस्पताल निर्माण गर्ने योजना नै छैन ।

उत्तरगया गाउँपालिकामा अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन सकेको छैन । तीन वर्ष अघिदेखि गाउँपालिकामा अस्पताल खोल्ने कुरा सार्वजनिक जग्गा रहेको ठाउँमा स्थानीय सरकारले अस्पताल बनाउन जग्गा प्राप्ति नभएकोले अस्पताल निर्माण सुरु हुन सकेको छैन । सङ्घीय सरकारमा जग्गा प्राप्तिका लागि सङ्घीय सरकारमा अनुरोध गरे पनि अनुमति प्राप्त नभएपछि अस्पताल निर्माण हुन नसकेको हो । उत्तरगया गाउँपालिका–५, खाल्टेमा हाल पालिका रहेकै सार्वजनिक जग्गामा अस्पताल तथा गाउँपालिका भवन निर्माण गर्न खोजे पनि जग्गा प्राप्ति हुन नसकेको हो । त्रिशूली नदिको जाखिममा रहेको कारण त्यहाँ भवन निर्माण नगर्न भूगर्भविद्ले अनुरोध गरेका छन् । पहिलो पाँच वर्षे कार्यकालमा स्थानीय सरकारले सहजिकरण गरे पनि जग्गा अस्पताल र गाउँपालिका भवन निर्माणका लागि प्राप्त हुन सकेको थिएन ।

उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गरुङले भन्नुभयो, ‘खाल्टे र पैरेमा प्रसस्त सार्वजनिक जग्गा रहेको छ । तीन पटक लिखित रूपमा अनुरोध गरियो हालसम्म जग्गा प्राप्ती हुन सकेन ।’ जग्गा प्राप्ति नभएपछि उत्तरगया गाउँपालिकामा अस्पताल निर्माण हुन सकेको छैन । आमाछोदिङमो गाउँपालिकामा स्थानीय अस्पताल निर्माण गर्न छलफल गरेर डिपीआर तयार गरी गोल्जुङ गाउँमा निर्माण गर्ने योजना भएकोले अब चाँढै टेण्डर आब्हान गरिने स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताङले जानकारी दिनुभयो । कालिका गाउँपालिकामा भने जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रमा १५ सैयाको अस्पताल भवन निर्माणाधीन अवस्थामा रहेको छ । १४ करोड ५९ लाख रुपियाँको लागत निर्माण क्रमागत रूपमा भवन निर्माणको अन्तिम चरण पुगेको अस्पतालका स्वास्थ्य सहायक उत्सव पौडेलले बताउनु भयो ।

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भनेता पनि आवश्यक भौतिक संरचना अभावले सेवा प्रवाह हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एक गाउँ एक अस्पताल खोल्ने भने पनि उत्तरगया गाउँपालिका र अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् । नौकुण्ड गाउँपालिकामा निर्माणाधीन अस्पताल सम्पन्न गर्न ढिलाइ भएको स्थानीय निमा लमाले बताउनु भयो ।

धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार तीन वर्ष अघि तत्काल निर्माण सुरु गरेर एक वर्ष भित्र निर्माण गर्ने भनिएको धादिङका आठ ओटा ग्रामीण अस्पतालमध्ये चार ओटा अस्पताल अझै निर्माण सम्पन्न भएको छैन । २०७७ मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपि ओलीले शिलान्यास गर्नुभएको धादिङका ग्रामीण अस्पताल निर्माण नै सुरु नगरेको अवस्थामा समेत रहेको छ ।

रुबीभ्याली गाउँपालिकामा पर्ने सेर्तुङ स्थित रुबीभ्याली ग्रामीण आधारभुत अस्पताल १० बेडको रहने गरी शिलान्यास भएको थियो । तर तत्कालीन अवस्थामा रकम विनियोजन नगरेपछि काम सुरु भएको थिएन । जग्गा प्राप्ति र आधारभुत काम समेत बाँकी भएकोले निर्माण सुरु नभए पनि आगामी वर्ष मात्र निर्माण गर्नका लागि तयारी भएको स्वास्थ्य शाखा प्रमुख राज तामाङले जानकारी दिनुभयो । सिद्धलेक गाउँपालिकाले पनि शिलान्यास गरेको तीन वर्ष भइसक्दा घडेरी खारेर मात्र बसेको अवस्थामा रहेको छ ।

ज्वालामूखी गाउँपालिकाले मैदी बनाउने गरी शिलान्यास गरेको ज्वालामूखी ग्रामीण अस्पताल बनाउन सुरु नै गरेको छैन । आगामी वर्ष असार मसान्तसम्म भवन निर्माण सम्पन्न हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो । गङ्गाजमुना गाउँपालिकाको फुलखर्कमा गङ्गाजमुना ग्रामीण अस्पताल निर्माणको क्रममा रहेको गाउँपालिका अध्यक्ष भक्त लामाले जानकारी दिनुभयो । ग्रामीण अस्पतालको भवन निर्माण सुरु नगरेपछि भवन निर्माण प्रकृयामा रहेको चार गाउँपालिकाले जनाएको छ ।

गल्छी, नेत्रावती डबजोङ, बेनिघाट, र खनियाबास गाउँपालिकाको ग्रामीण अस्पताल भने निर्माण सम्पन्न गरी सोही भवनबाट सेवा समेत सुरु गरेका छन् । धादिङका १३ स्थानीय तहका सरकारमध्ये त्रिपुरासुन्दरी र गजुरी गाउँपालिकामा यसअघि प्राथमिक स्वास्थ्य केन्द्र रहेकोले सोहीलाई ग्रामीण अस्पताल बनाएर सञ्चालन गर्ने तयारी भएको छ । नीलकण्ठ नगरपालिकामा भने धादिङ अस्पताल रहेकोले अर्को अस्पताल बनाउने योजना राखेको छैन । यसबाहेक थाक्रे र धुनीबेसीमा आगामी वर्ष अस्पताल निर्माण गरिसक्ने जनाइएको छ ।

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार सरकारले नुवाकोटको चार ओटा स्थानीय तहका अस्पताल शिलान्यास गरेको थियो । पञ्चकन्या गाउँपालिका, ककनी गाउँपालिका, शिवपुरी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा अस्पताल शिलान्यास भएको हो । पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका र ककनी गाउँपालिकामा अस्पताल निर्माण कार्य भइरहेको छ । सबै अस्पताल निर्माण सङ्घीय सरकारको बजेटबाट भइरहेको हो ।

ककनीको रानीपौवामा नौ रोपनी जग्गामा अस्पतालको निर्माण कार्य भइरहेको छ । आठ करोड ५० लाख रुपियाँ लागतमा अस्पताल निर्माण सुरु भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनु भयो । १० शैयाको अस्पताल परेको पञ्चकन्या गाउँपालिका-३, घलेभञ्ज्याङमा पनि अस्पताल निर्माणको कार्य भइरहेको छ । जग्गाको उपलब्धता, ठेक्का प्रक्रिया, सङ्घबाट आउनु पर्ने बजेट ढिलाइले निर्माणमा पूर्णता पाउन नसकेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो ।

शिवपुरी गाउँपालिका-५, चालिसेमा १२ रोपनी जग्गामा अस्पताल निर्माण भइरहेको छ । जग्गा प्राप्तिको प्रक्रियाको कारण केही समय बढी लागे पनि अहिले अस्पतालको कार्य भइरहेको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया जानकारी दिनुभयो । १८ करोड लागतको अस्पतालको भवन निर्माणको ८० प्रतिशत काम सकिएको अध्यक्ष थपलियाको भनाई छ ।

तारकेश्वर गाउँपालिका-१ को दाङसिङ स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालमा स्तरोन्नती गर्ने भनी तोकिएकोमा उक्त स्वास्थ्य चौकीमा सङ्घको छुट्टै कार्यक्रमबाट भवनको लागि बजेट विनियोजन भएकोले १० शैयाको अस्पताल कार्यक्रम सञ्चालन नगरिएको तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिनुभयो । उक्त अस्पताल पनि अहिले स्थानीय तहले कुन स्थानमा बनाउने भनेर विवाद भइरहेको उहाँको भनाई छ । अघिल्लो कार्यकालको गाउँ कार्यपालिकाले तारकेश्वर गाउँपालिका-१, दाङसिङमा अस्पताल निर्माण गर्न गरेको निर्णयलाई अहिलेको कार्यपालिकाले तारकेश्वर गाउँपालिका-५, गोस्याङमा अस्पताल निर्माण गर्ने निर्णय गरेपछि विवाद भएको उपाध्यक्ष रिमालले बताउनु भयो ।

काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्यका अनुसार स्वास्थ्य सेवाको अवस्थामा काभ्रेपलाञ्चोकमा एक मेथिनकोट प्रादेशिक अस्पताल रहको छ । यो अस्पतालमा चार जना विशेषज्ञ, ६२ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जिल्लामा १ सय ४५ स्वास्थ्य संस्था रहेका छन् । जिल्लामा ६ जना स्टाफ नर्सको दरबन्दीसहित २ सय ३३ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

०७७ मङ्सिर १५ गते शिलान्यास गरिएका अस्पतालहरूमध्ये खानीखोला गाँउपालिकाको तालढुङ्गा स्वास्थ्य चौकी, महाभारत गाउँपालिकाको घर्तीछाप स्वास्थ्य चौकी बन्दै गरेका छन् भने भुम्लु गाउँपालिकाको भुम्लुटार स्वास्थ्य चौकी र रोशी गाउँपालिकाको खहरेपाँगु स्वास्थ्य चौकी निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयकी निमित्त कार्यालय प्रमुख अनिता खनालले जानकारी दिनुभयो । यस बाहेक जिल्लाको पनौती नगरपालिका, बेथानचोक र तेमाल गाउँपालिकामा पनि थप स्थानीय तहमा अस्पताल बन्दै गरेको उहाँले जानकारी दिनुभयो । केही अस्पताल प्राविधिक समस्याका कारण बन्नमा ढिलाई भएको प्रमुख खनालले बताउनु भयो ।

जिल्लामा ५० शैयाको मेथिनकोट अस्पताल, ५ सय शैयाको धुलिखेल अस्पताल, १५ शैयाको बनेपा अस्पताल, २ सय शैयाको शीर मेमोरियल अस्पताल, १५ शैयाको कृष्णप्रसाद अस्पताल, १५ शैयाको सदाबहार अस्पताल, १५ शैयाको सत्य साई अस्पताल, १५ शैयाको बनेपा नगरपालिकास्तरीय आधारभुत अस्पताल, पाँच शैयाको रोशी अस्पताल, पाँच शैयाको मण्डन देउपुर नगरपालिकास्तरीय अस्पताल, १५ शैयाको धुसेनी शिवालय अस्पताल, १५ शैयाको सामुदायिक अस्पताल र १० शैयाको भुम्लु अस्पताल गरी १३ ओटा सरकारी र नीजिस्तरबाट सञ्चालित अस्पताल रहेका छन् । जसमध्ये पाँच ओटा अस्पतालमा फार्मेसी रहेको छ ।

सिन्धुली जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीका अनुसार गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिए पनि हालसम्म निर्माणले गति लिन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप ०७७ मङ्सिर १५ गते स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको थियो । तर सिन्धुलीका स्थानीय तहमा अस्पताल निर्माणले गति लिन सकेको छैन् ।

जिल्लामा नौ ओटा स्थानीय तह मध्ये दुधौली नगरपालिकाले अस्पताल निर्माण सम्पन्न गरेको छ । तिनपाटन, फिक्कल, मरिण र हरिहरपुरगढीले आधारभुत अस्पताल निर्माण गरी रहेका छन् भने अन्य स्थानीय तहमा अस्पताल निर्माण कार्य सुरु हुन सकेको छैन ।

दुधौली नगरपालिका-५, सिर्थौलीमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न भएको र हस्तान्तरणको तयारी भइरहेको दुधौली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिनुभयो । अस्पतालको भौतिक संरचनाको निर्माण कार्य सकिएको र निर्माण गर्ने पक्षले हस्तान्तरण अबको केही दिनमा गर्ने तयारी गरेको उहाँको भनाई छ ।

यस्तै फिक्कल गाउँपालिका-३, चनौटेमा आधारभुत अस्पताल निर्माण भइरहेको छ । ०८० पुस मसान्त भित्रमा अस्पतालको भौतिक संरचना निर्माण भइसक्ने गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रमा भौगोलिक कठिनाइका बाबजुत पनि अस्पताल निर्माण गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्दै आएकाले पुस महिनाभित्र अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण हुने बताउनु भयो ।

मरिण गाउँपालिका-७, महेश्वतामा आधारभुत अस्पताल निर्माण सुरु गरिएको छ । भवनको जग हाल्ने काम सुरु गरिएको र अबको १८ महिनाभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरी सकिने बताइएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले आधारभुत अस्पताल समयमै निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका लागेको उहाँले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाको-२, रतनपुरमा ०७९ माघ महिनाबाट आधारभुत अस्पताल निर्माण सुरु गरिएको छ । ०८० सालभित्र अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिनुभयो । गाउँपालिकाले जनताको स्वास्थ्य उपचारको पहुँच वृद्धि गर्न आफू निर्वाचित भएपछि अस्पताल निर्माण कार्यमा जुटेकाले यही वर्षमा अस्पताल सञ्चालनमा ल्याउने बताउनु भयो ।

तिनपाटन गाउँपालिकाको लाम्पान्टारमा आधारभुत अस्पतालको निर्माण कार्य भइरहेको छ । चैत मसान्त सम्ममा अस्पतालको भौतिक संरचना निर्माण कार्य सम्पन्न हुने गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले जानकारी दिनुभयो । विगत दुई वर्षदेखी अस्पतालको निर्माण कार्य भइरहेको उहाँको भनाई छ ।

कमलामाई नगरपालिका-९, सुविधानगरमा अस्पताल निर्माण गर्ने भनिए पनि हालसम्म आधारभुत अस्पतालको निर्माण कार्य सुरु हुन सकेको छैन । सुनकोसी गाउँपालिका-३, झागाझोलीमा ऐलानी जग्गामा आधारभुत अस्पताल निर्माण गर्ने तयारी गरिए पनि जग्गाको विवादका कारण अस्पताल निर्माण हुन सकेको छैन । विवाद निरुपणका लागि जनप्रतिनिधि तथा जिम्मेवार निकायहरू नलाग्दा अस्पताल निर्माण अन्योलमा परेको छ । घ्याङलेख गाउँपालिका-३, सोलाभञ्ज्याङमा आधारभुत अस्पताल बनाउने भनिए पनि जग्गा विवादका कारण अस्पताल निर्माण कार्यले गति लिन सकेको छैन । गोलञ्जोर गाउँपालिकामा भने आधारभुत अस्पतालको हुनै तयारी नै छैन् ।

चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-४, कुरिनटारमा सङ्घीय सरकारले दिएको बजेटबाट आधारभूत अस्पताल निर्माणको काम सुरु भइरहेको छ । अघिल्लो वर्ष बजेट अभावले काम रोकिए पनि यस पटक भने बजेट ल्याइ पुन काम भइरहेको गाउँपालिका प्रमुख दानबहादुर गुरुङले बताउनु भयो । पछिल्लो पटक यस अस्पतालको लागि १८ करोड रुपियाँ विनियोजन भएको थियो । अहिले पहिलो तला ढलानको तयारी रहेको अध्यक्ष गुरुङले बताउनु भयो । यो अस्पताल बनिनसक्दा सम्मका लागि कुरिनटारमा रहेको स्वास्थ्य चौकीबाटै २४ सै घण्टा आकस्मिक सेवा सहितको स्वास्थ्य सुविधा दिइएको छ ।

अतः नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर बागमती प्रदेशका अधिकांश जिल्लामा ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा यहाँका धेरैजसो अस्पतालमा भने स्वास्थ्य सेवा नलिई बिरामी फर्कनु पर्ने अवस्था छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा