शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सञ्जालले पैरवी गर्ने

  ०७३ मङ्सिर २७ गते

जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा बर्दिया नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । इन्सेकको आयोजनामा मङ्सिर २७ गते गुलरियामा आयोजित छलफल कार्यक्रममा सञ्जालका संयोजक बालकृष्ण ओलीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सरकारले नागरिकलाई दिने सेवा र सुविधाको बारेमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन समेत पहल गर्ने सञ्जालका संयोजक बालकृष्ण ओलीले बताए ।

कार्यक्रममा स्वास्थ्य, शिक्षा, खाद्य, ज्येष्ठ नागरिक, युवा र महिला हिंसा साथै वन वातावरण र समग्र जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा इन्सेक बर्दियाका जिल्ला सहजकर्ता तथा प्रतिनिधि मानबहादुर चौधरीले इएलपी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । मानव अधिकार निगरानी समूहको रूपमा बर्दिया नागरिक समाज सञ्जालले विगत देखि नै काम गर्दै आएकोले यसलाई नै सशक्त बनाएर इएलपी कार्यक्रमसँग समन्वय र सहकार्य गर्दै जाने निर्णय गरिएको हो ।

यसैगरी सार्वजनिक यातायातको क्षेत्रमा बर्दिया जिल्लामा हाल देखिएको ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाको लागि सिट आरक्षण तथा छुट हुनु पर्नेमा सो नपाएको हुँदा सरकारले गरेको नीतिगत व्यवस्था अनुसार कार्यान्वयनका लागि दबाव दिन सञ्जालले पहल गर्ने भएको हो ।

युवा नीतिमा व्यवस्था भए अनुसार स्थानीय तह तथा सम्बन्धित निकायमा युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि पनि आवश्यक पहल गर्ने सञ्जालले जनाएको छ ।


मानबहादुर चौधरी