शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ८ गते

तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नपा–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या गरेको आरोपमा प्रहरीले चैत ५ गते राजविराज नपा–७ खर्साल टोलका २४ वर्षीय श्रवणकुमार महतोलाई गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटी गएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट आरोपितलाई गिरफ्तार गरी चैत ६ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।

बिराजीलाई ०७६ असार ९ गते राति राजविराज नपा–७ खर्साल टोलमा आरोपितसहित आठ जनाको समूहले गरेको कुटपिटबाट असार ११ गते मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा असार ११ गते उजुरी दिनु भएको थियो ।

आरोपितसहित राजविराज नपा–७ कै ४० वर्षीय टुनटुन भनिने सुभाष यादव, ३० वर्षीय कमलु यादव, २७ वर्षीय शशी देव, ३१ वर्षीय प्रेमकुमार देव, ५० वर्षीय बिन्दु भनिने बिन्देश्वर यादव, उनकी २५ वर्षीया छोरी सन्तोषी यादव र २३ वर्षीय प्रमोद यादवले पीडितको हत्या गरेको भन्दै दिएको उजुरी प्रहरीले ०७६ असार १२ गते दर्ता गरेको थियो ।

पिस जोन मोडेल स्कुलको होस्टल बार्डेनका रुपमा समेत कार्यरत शिक्षक बिराजीलाई केटी साथी भेटन ०७६ असार ९ गते राति राजविराज नपा–७ खर्साल टोल पुगेका बेला स्थानीय युवाहरूको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

कुटपिटबाट गम्भीर घाइते बिराजीको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हुन नसकेपछि असार ११ गते बिहान नोबेल अस्पताल विराटनगर पुर्‍याइएको थियो ।

शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा असार ११ गते गरिएको थियो । अन्य आरोपितहरू गिरफ्तार भएका छैनन् ।


मनोहरकुमार पोखरेल