शिक्षक हत्या कसुरमा जन्मकैद सजायको फैसला

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बूलाई ०७८ वैशाख ९ गते भरूवा बन्दुकबाट गोली प्रहार गरि मनसायपूर्वक हत्या गरेको कसुर र हातहतियार सम्बन्धी कसुरमा जिल्ला अदालतले मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका ३० वर्षीय प्रताप भनिने आकाश लिम्बूलाई असोज १८ गते जन्मकैदको फैसला सुनाएको छ ।

न्यायधीश प्रकाश राउतको इजलासले लिम्बूलाई जन्मकैदसहित हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा ५ वर्ष कैद सजाय सुनाएको हो ।

कसुरदारबाट पीडित परिवारले पाउने गरि २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

सोही घटनामा संलग्न भएर हत्या गरेको कसुरमा अदालतले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ३६ वर्षीय कान्छा काजी भनिने काजीमान वनेम लिम्बूलाई २ वर्ष ६ महिना कैद सजायसँगै २५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको छ ।

मृतककी पत्नी ४९ वर्षीया सुखमाया लिम्बूले पतिको हत्या गरेको आरोपमा आरोपितविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितमध्ये आकाश र काजीमानलाई प्रहरीले वैशाख ९ गते नै घरबाटै गिरफ्तार गरेको थियो । आरोपितद्धय आकाश र काजीमानविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ जेठ ३ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । घटनाका आरोपितहरू जिल्ला अदालतको २०७८ जेठ ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा रहेका थिए ।

मैवाखोला गाउँपालिका–१ का ५९ वर्षीय झिगुटी जन्तरे भनिने खेमराज वनेमलाई अदालतले असोज १४ गते सफाइ दिएको छ । आरोपित खेमराज जिल्ला अदालतको गत असार २७ गतेको आदेशमा ५० हजार रुपियाँ धरौटी बुझाएर  तारेखमा छुटेका थिए ।

प्रतापले भरूवा बन्दुक काजीमान वनेमबाट लिएको प्रहरीको निश्कर्ष छ । काजीमानले पनि बन्दुक खेमराजबाट लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वालनरसिंह राणाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितहरू मदिरा सेवन गरि होहल्ला गर्ने र शिक्षक लिम्बूले उनीहरूलाई पटक–पटक सम्झाईबुझाइ गरेको विषयलाई साँधेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित जालपादेवी आधारभूत विद्यालयका शिक्षक लिम्बूको वैशाख ९ गते हत्या भएपछि १० गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

सोही दिन पीडित पक्षले शव बुझि मेरिङदेन गाउँपालिका–२ मा सद्गत गरेको प्रहरीले जनाएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकको रुपमा परिभाषित गरेको छ ।


देवराज गुरुङ