शिक्षक अभावले मातृभाषा कक्षा बन्द

  ०७८ माघ १४ गते

अल्पसङ्ख्यक आठपहरिया जातिको मातृ भाषामा पठनपाठन हुँदै आएको भाषा कक्षा भाषा शिक्षक अभावले बन्द भएको छ ।

मातृभाषाको कक्षा बन्द भएपछि विद्यार्थीले नेपाली भाषा नबुझ्दा भाषागत समस्याका कारण विद्यालयहरूमा विद्यार्थीको आकर्षण तथा उपस्थिती न्यून हुँदै गएको छ ।

भाषा कक्षा सञ्चालनमा रहँदा प्रतिकक्षा २० देखि ३० जना विद्यार्थी उपस्थित हुने विद्यालयमा पछिल्लो समय १० देखि १२ जना मात्र विद्यार्थीको उपस्थिती हुन थालेको छ ।

विद्यार्थी नियमित विद्यालय नआएपछि विद्यालयले घरदैलो अभियान चलाउँदा भाषा नबुझेका कारण विद्यार्थी विद्यालय नआएको पाइएको देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतले बताउनु भयो ।

आठपहरिया जाति धनकुटा नगरपालिकाका सबैजसो वडामा बसोबास गर्दै आए वडा–८ मा मुख्य बाहुल्य क्षेत्र हो । सो वडामा आठपहरिया जाति मात्र ९७ प्रतिशत वसोवास गर्दै आएका छन् ।

वडा–८ मा चार ओटा विद्यालयमा आठपहरिया जातिको भाषामा कक्षा सञ्चालन हुँदै आएको थियो । वडा–८ को याक्तेमा रहेको जिमी प्राथमिक विद्यालय, टेकुनालास्थित जनता राष्ट्रिय आधारभूत विद्यालय, सान्ताङ्को देउराली माध्यमिक विद्यालय र च्याङ्जिबुङको चुलीवन प्राथमिक विद्यालयमा आठपहरिया जातिको भाषामा कक्षा सञ्चालन हुने गरेको थियो ।

देउराली मावि सान्ताङमा एक जना नगरपालिकाले दिएको दरबन्दी र अन्य विद्यालयमा नीजि स्रोतबाट एक÷एक जना शिक्षकले भाषा कक्षा पढाउँदै आएका थिए । हाल ती चार ओटै विद्यालयमा भाषा कक्षाका शिक्षक नरहेको वडा–८ का वडाध्यक्ष सुमन आठपहरियाले बताउनु भयो ।

दश वर्षसम्म पठनपाठन भइसकेका कक्षा बन्द भएको देउराली माविका प्रधानाध्यापक यामबहाहदुर बस्नेतले बताउनु भयो । भाषा कक्षाका शिक्षकको दरबन्दी धनकुटा नगरपालिकाले कटौती गरेका कारण कक्षा बन्द भएको हो ।

पाठ्यपुस्तक बनाएर २०६६ देखि २०७६ सम्म नियमित पठनपाठन भएपनि त्यसपछि धनकुटा नगरपालिकाले देउराली माविमा एक जना भाषा कक्षा शिक्षकको दरबन्दी रहेको र सो दरबन्दी कटौती गरेपछि दरबन्दी अभावकै कारण बन्द भएको उहाँको भनाइ छ ।

दरबन्दीको शिक्षक बढुवा भएर सरूवा भएपछि वैकल्पिक शिक्षक व्यवस्थापन हुन नसक्दा भाषा कक्षा बन्द भएको हो ।’ उहाँले भन्नुभयो, ‘आठपहरिया भाषा कक्षाको लागि शिक्षक जुटाउन प्रयास गरिएपनि सम्बन्धीत निकायको चासो गएन ।’ दरबन्दीका शिक्षक माग गर्दा उपलब्ध नहुने समस्या रहेको उहाँले बताउनु भयो । अझ विषयगत शिक्षकको समस्या बढी रहेको प्रधानाध्यापक बस्नेतको भनाइ छ । बजार क्षेत्रका विद्यालयमा भाषा शिक्षकको आकर्षण हुने र ग्रामीण तहका विद्यालय उपेक्षित हुने समस्या रहेको उहाँको भनाइ छ ।

धनकुटा नगरपालिकाले दिएको शिक्षक दरबन्दी कटौती, वडा कार्यालयले दिएको अनुदान बन्द भएपछि र भाषा शिक्षक समेत अभाव भएपछि ति विद्यालयमा भाषा कक्षा स्थगित हुन पुगेको जनता राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्रबहादुर लिम्बूले बताउनु भयो ।

भाषागत समस्याका कारण विद्यालय आउन विद्यार्थी सङ्ख्या नै कमी हु“दै गएको देउराली माविका प्रधानाध्यापक बस्नेतले बताउनु भयो । अन्य विषयगत पढाइ भएपनि मातृभाषाको कक्षा नहु“दा बालबालिकाको सङ्ख्यामा कमी हुने अभिभावक सङ्घका अध्यक्ष सोमबहादुर आठपहरियाको भनाइ छ ।

फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालित बहुभाषिक शिक्षा कार्यक्रम अन्तर्गत २०६६ सालदेखि चार ओटा विद्यालयमा आठपहरिया भाषा कक्षा पढाइ हु“दै आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । भाषा कक्षा सञ्चालनमा आएको दश वर्षपछि स्थगित भएको इकाई प्रमुख मोहन लिंखा राईले बताउनु भयो । मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न भाषामा पढाइ गरिने उद्देश्य अनुसार आठपहरिया भाषाको कक्षा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

तर, शिक्षक दरबन्दी र जनशक्ति व्यवस्थापन नहु“दा भाषा कक्षा स्थगित भएको उहाँको भनाई छ । ‘मातृभाषाको पाठ्यक्रम बनाएर पठनपाठन हु“दै आएपनि स्थगित गरिन नहुने थियो’ उहाँले भन्नुभयो, ‘यस्ता कक्षालाई निरन्तरता दिन र जनशक्ति व्यवस्थापनका लागि जरूरी छ ।’

धनकुटा नगरपालिकाले बहुभाषिक कक्षा सञ्चालनका लागि आगामी वर्षबाट बजेट विनियोजन गरेर काम गर्ने जनाएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी वर्षदेखि भाषा शिक्षकको व्यवस्थापन गर्न स्थानीयलाई जानकारी गराएको र त्यसका लागि आवश्यक बजेट धनकुटा नगरपालिकाले व्यवस्थापन गर्ने तय गरिएका बताउनु भयो ।

संविधानले नै मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेको भएपनि धनकुटा नगरपाालिकामा सञ्चालन सुरू भएको मातृभाषा कक्षा बन्द भएको हो ।

राष्ट्रिय शिक्षा नीति, २०७६’ ले स्थानीय तहलाई मातृभाषा सम्बन्धी पाठ्यक्रम बनाउन सक्ने अधिकार दिएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि ८ कक्षासम्मको मातृभाषाको पाठ्यपुस्तक बनाउने अधिकार स्थानीय तहलाई छ ।

स्थानीय तहले आफ्नो क्षेत्रको मातृभाषा, लिपी, साहित्य एवम् संस्कृतिको संरक्षण तथा विकासका लागि सो भाषाको पठनपाठन गर्न सक्ने अधिकार पाएको छ ।

नेपालमा मातृभाषा लिपी, साहित्य एवम् संस्कृति संरक्षणका लागि नीतिहरू बन्दै आएका छन । तर, ती नीति कार्यान्वयन भने हुन सकिरहेका छैनन् ।

बहुभाषिक शिक्षा कार्यक्रम निर्देशिका, २०६६’ ले आधारभूत तहसम्म मातृभाषाको माध्यमबाट शिक्षा दिनुपर्ने बहुभाषिक नीतिलाई अघि सारेको छ ।                                                                                 


ईश्वर थापा