शिक्षकहरु मासिक तबल पाउनबाट वञ्चित

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा कार्यरत नीजिस्रोतका शिक्षकहरु १८ महिनादेखिको तबल सुविधा पाउनबाट वञ्चित हनुभएको छ ।

विगतका वर्षमा नगरपालिकाले ५ लाख रुपियाँ अनुदान रकम उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष अनुदान रकम नदिदा र वडा कार्यालयले विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भनिएको २ लाख रुपियाँ उलब्ध नहुँदा शिक्षकहरु तलब पाउनबाट वञ्चित हुनुपरेको हो ।

२०६५ सालमा स्थापना गरिएको दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा प्रभावकारी पठनपाठन सञ्चालन गर्न समेत समस्या भएको छ । कक्षा ८ सम्म अध्यापन गरिने  यस विद्यालयमा एक जना स्थायी र एक जना राहत कोटामा कार्यरत शिक्षक रहनुभएको भए पनि ६ जना शिक्षक नीजिस्रोतबाट तलब व्यहोर्ने गरी कार्यरत छन्  ।

अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा नीजिस्रोतका शिक्षकको तलब जुटाउन नसकिएको र नगरपालिकाले प्रदान गर्दै आएको अनुदान रकम प्राप्त नभएपछि विद्यालय सञ्चालन गर्न तथा नीजिस्रोतका शिक्षकहरुको तलब भुक्तानी गर्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिस्ना लुहारले बताउनु भयो ।

नीजिस्रोतका शिक्षकहरुको चालु शैक्षिक सत्रको तलब सुविधा भुक्तानी गर्न नसकिएपछि नगरपालिकामा पटकपटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरिएको भए पनि सुनुवाइ नभएको अध्यक्ष लुहारको भनाइ छ ।

लामो समयदेखि तलब नपाएका कारण घर भाँडालगायत सामान्य घर खर्च चलाउन समेत समस्या भएको शिक्षक कर्ण कुँवरले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सँगै अध्ययपन गराउने अन्य शिक्षकहरु तलब बुझेर जानुहुन्छ ।  हामी निराश मुख लगाएर खाली हात घर फर्कन्छौँ । आफूहरुले मासिक रुपमा पाउने पारिश्रमिक तलब नै पाउनबाट वञ्चित छौँ ।’

दशैँको बिदा हुनै लाग्दा नीजिस्रोतका शिक्षक निराश भएर खाली हात घर गइरहेको देख्दा साउन महिनादेखि असोज महिनासम्म आफूले पाएको तलब नीजिस्रोतका ६ जना शिक्षकलाई बराबर गरी बाँडिदिएको विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नु पर्ने दायित्व हो । दशैँको बिदा हुनै लाग्दा नीजिस्रोतका शिक्षकले तबल पाउन सक्नु भएन् ।  उहाँहरुमा निराशा छाएको देखेर आफ्नै तलबबाट उहाँहरुलाई पनि बाडफाँड गरे ।’

आधारभूत तहका विद्यालयमा कार्यरत नीजिस्रोतका शिक्षकले ४ हजारदेखि ५ हजार रुपियाँसम्म तलब पाउने गरेको भए पनि सोही तलब रकम पनि दुई वर्षसम्म नपाउँदा शिक्षकको मनोवल खस्केको प्रधानध्यपक ऐर भण्डारीको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले गत वर्ष अनुदान रकम दिदा रकम बेरुजी देखिएपछि यस वर्षदेखि कार्यविधि बनाई विद्यालयलाई अनुदार रकम उपलब्ध गराउने व्यवस्था गरिएको बताउनु भयो ।

कार्यविधि निर्माण गर्न केही ढिलाई भएकोले अनुदान रकम उलब्ध गराउन ढिलो भएको भए पनि कार्यविधि निर्माण भइसकेकोले शिक्षकहरुलाई तबल दिन अब ढिलो नहुने उहाँको भनाइ छ ।


लिली कुँवर