शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

  ०७८ पुस ५ गते

विराटनगर महानगरपालिका‒१२ की १४ वर्षीया बालिका तनिषा श्रेष्ठलाई कक्षा कोठामा मोवाइल चलाएको आरोपमा शिक्षकले पुस २ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

विराटनगर महानगरपालिका‒११ स्थित जनपथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकालाई विराटनगर महानगरपालिका‒३ का ५६ वर्षीय शिक्षक हरिहर दहालले कक्षा कोठामा मोवाइल चलाएको भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट बालिकाको पाखुरामा निलडाम बसेको र श्वासप्रश्वासमा समस्या आएकाले कोशी अस्पतालमा पुस २ गते भर्ना गरेर उपचार गरिएको कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर चुमनलाल दासले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि पराजुलीले शिक्षकले विद्यार्थीलाई हप्काएको तर कुटपिट नगरेको बताउनु भयो । प्रअ पराजुलीले शिक्षक दहाललाई पुस ४ गते विद्यालय प्रशासनले सचेत गराएको बताउनु भयो ।

पीडित पक्षले शिक्षक दहालविरूद्ध पुस ४ गते वडा प्रहरी कार्यालय विराटनगर‒१२ मा उजुरी दिएको भएपनि पुस ६ गतेसम्म पीडित पक्ष प्रहरीको सम्पर्कमा नआएको प्रअ पराजुलीको भनाइ छ ।


अर्जुन दर्जी