शिक्षकको मुद्दा छिनोफानो नहुँदा विद्यार्थीको पढाइ प्रभावित
प्रधानाध्यापकले किर्ते गरेर शिक्षाको नियुक्ति गरेको विषयमा आरोपप्रत्यारोपपछि मुद्दामामिलासमेत भएकाले गएको चैत महिनादेखि उदयदेवस्थित पीपलकोट उमाविमा अध्ययनरत सयौँ बालबालिकाको पढाइ प्रभावित भएको छ ।
पीपलकोट उमाविका तत्कालीन प्रधानाध्यापक रमेशदत्त ओझाले विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको नाममा नक्कली हस्ताक्षर गरी रामसिंह महता र सुनिताकुमारी धामीलाई नियुक्त गरेको आरोप छ । मुद्दामामिलाका कारण देखाउँदै विद्यालयका तत्कालीन प्रधानाध्यापक र ती शिक्षक ०७३ भदौदेखि विद्यालयमा आएका छैनन् । सो विद्यालयमा ६ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मोहनसिंह ठगुन्नाका अनुसार पढ्न आएका विद्यार्थीहरू शिक्षकको अनुपस्थितिमा त्यत्तिकै बस्न बाध्य छन् ।
परीक्षाको समय नजिकिनै लाग्दा समेत आफ्ना बालबालिकाको पढाइप्रति खेलबाड गरिएकाले तत्काल जसरी भएपनि शिक्षकको व्यवस्था गरी बालवालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका सदस्य करनसिंह साउदको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिको किर्ते हस्ताक्षर गरेको घटनाका दुवै पक्ष नियुक्त गरिएका शिक्षक र तात्कालीन प्रधानाध्यापक अहिलेसम्म सम्पर्कमा नआएको र उनीहरूकै कारणले विद्यालयको पढाइ प्रभावित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसिंह महताले आरोप लगाए ।
जिल्ला शिक्षा समितिको सिफारिसमा जिल्ला शिक्षा कार्यालयले नियुक्ति लिने र दिने दुवै पक्षलाई निष्काशन गरेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए ।
उनले पीपलकोट उमाविको मुद्दा मामिलाले पढाइमा समस्या भएको बताए । जिशिअ टेरले तत्कालीन प्रधानाध्यापक ओझाले किर्ते गरेको प्रमाण फेला परेपछि उनले गरेका निर्णय बदर भएकोसमेत बताए ।
निष्कासित शिक्षकद्वयले पुरावेदन र सर्वोच्चमा मुद्दा हालेको र त्यसको अन्तिम किनारा नलागेकाले समस्या भएको उनको भनाइ छ ।
किर्ते गरेको आरोपमा जिम्मेवारीबाट हटाइएका प्रधानाध्यापक र शिक्षकको मागअनुसार पहिलेकै जिम्मेवारी दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । तर, फैसलामा ढिलाइ भएपछि विद्यालय व्यवस्थापन समिति पनि आफैँले छिटो सुनुवाइ गर्न भन्दै सर्वोच्च अदालतमा रिट हालेको छ ।
सयौँ विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा सुनुवाइ नभएपछि वारेसका रूपमा कर्मराज अवस्थीले विद्यालय व्यवस्थापनका तर्फबाट 'शीघ्र सुनुवाइ गरी कारबाही किनारा लगाइपाऊँ' भन्दै ०७३ कात्तिक २४ गते सर्वोच्चमा रिट निवेदन हालेका थिए ।
०७३ भदौ २३ गते विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रहरी कार्यालयमा सरकारी कागजात किर्ते गरी अपराध गरेको आरोपमा उनीहरूविरुद्ध उजुरी दिएको थियो ।
उजुरी आएपछि आवश्यक अनुसन्धानका लागि भन्दै तत्कालीन प्रधानाध्यापक ओझासहित शिक्षकद्वय रामसिंह महता र सुनिताकुमारी धामीलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बालनरसिंह राणाले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…