शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

व्यास नगरपालिका– १ गल्वुवेशी स्थित मादी श्री बोर्डिङ स्कुलमा  कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षिय बालकको सोही विद्यालयका शिक्षक मनोज राउतले कुटपिट गर्दा कानको जाली फुटेको छ ।

फागुन १४ गते शिक्षक राउतले अध्यापनको क्रममा छात्रको देब्रे कानमा हातले हान्दा उनको कानको जाली फुटेको र रगत समेत जमेको बालकको आमा अर्पणा पराजुलीले बताउनु भयो ।

पीडितको तत्कालै व्यास नगरपालिका– ३ स्थित नेशनल एपोलो अस्पतालमा उपचारको लागि लगिएकोमा उक्त अस्पतालमा उपचार नभएपछि गण्डकी मेडिकल कलेज पोखरामा लगेर परीक्षण गरिएको पीडितकी आमा अर्पणाले बताउनु भयो ।

उक्त परीक्षणमा कानको जाली फुटेको रिपोर्ट आएपछि उक्त रिपोर्टलाई विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा लगी नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधिर गोपाल पराजुलीसंग परीक्षण गराउदा कानको जालीमा दुईवटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।

उक्त विद्यालयका अनुशासन विभागका प्रमुख समेत रहेका शिक्षक राउतले आफुले विद्यार्थी पराजुलीलाई पिटेको स्विकार गर्नु भएको छ । उहाँले सामान्य सजाय दिनेक्रममा विद्यार्थीले टाउको छल्दा कानमा लागेर बढि चोट परेको बताउनु भयो ।

पीडित बालकका बाबु रमेश पराजुलीले विद्यालयले गैरजिम्मेवारी तरिकाले आफ्नो छोरालाई यातना दिएको बताउनु भयो । यसबारेमा विद्यालय प्रशासनसँग जानकारी लिन खोज्दा  विद्यालय प्रशासनले चासो नदिएको बताउनु भयो । उहाँले यो घटनाको विद्यालय प्रशासनले जिम्मा लिनुपर्ने र विद्यार्थी कुट्ने शिक्षक राउत माथी कारबाही गर्नुपर्ने बताउनु भयो ।

विद्यायल प्रशासनले उक्त घटनाको बारेका छलफल गर्न पीडितका अभिभावकलाई फागुन १८ गते बोलाएको पीडित पक्षले बताउनुभयाे  ।


प्रकाशचन्द्र भट्टराई