शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते : कारबाहीका लागि प्रहरीमा उजुरी

  ०८१ असार १७ गते

त्रिवेणी गाउँपालिका–६ लुहाममा स्थित सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ वर्षीय बालकलाई  ४५ वर्षीय शिक्षक चन्द्र बहादुर डाँगीले असार १६ गते कुटपिट गरेका छन् ।

कक्षाकोठामा पठनपाठन भइरहेको बेला शिक्षक डाँगीले फलामको स्केलले विद्यार्थीको टाउँकोमा हानेर घाइते बनाएको अभिभावकले आरोप लगाउनु भएको छ ।

घाइतेलाई लुहाममै प्राथमिक उपचार पश्चात जिल्ला अस्पतालमा थप उपचार गरिएको आमा तुलसी विकले जानकारी दिनुभयो । विद्यालयमा पढ्न गएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्ने शिक्षकलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ । ‘विद्यार्थीको गल्ती भए कारबाही गर्नुपर्छ, सजाय अरु पनि छन्, नभए अभिभावकलाई जानकारी दिनुपर्छ, तर पढ्न पठाएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्नु राम्रो भएन’ उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले यस घटनाका सम्बन्धमा प्रहरीमा पीडित पक्षले ठाडो उजुरी दिएको जानकारी दिनुभयो । ‘यस विषयमा थप छलफल हुन्छ, पीडित परिवारकै सहमतिमा आवश्यक प्रक्रिया अघि बढ्छ’ उहाँले भन्नुभयो ।

सल्यान पब्लिक स्कुलका फाउण्डर नेव बहादुर खड्काले कक्षाकोठामा हल्ला भइरहेको बेला कक्षा शिक्षकले यसो नगर भन्दा फलामको स्केलले विद्यार्थीको टाउकोमा लागेको बताउनुभयो । ‘घटना त्यस्तो केही पनि होइन्, यसो नगर भन्दा फलामको स्कलले विद्यार्थीको टाउकोको पछाडिको भागमा लागे छ, थोरै काटिएको छ, रगत आएकाले मेडिकलमा लग्यौँ’ उहाँले भन्नुभयो ‘भोली यस विषयमा छलफल गर्छौ, उहाँ (कक्षा शिक्षक) सँग पनि घटनाका बारेमा बुझ्छौँ, र संस्थागत निर्णय गरेर अघि बढ्छौँ ।’


बुद्धिमान पुन