शान्ति स्थापनाको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्वपीडितको गुनासो

  ०७३ मङ्सिर ६ गते

शान्ति स्थापना भएको एक दशक बितिसक्दा पनि राहत नपाएको द्वन्द्व पीडितले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-३ जुम्लाकोटकी ३० वर्षीया अमृता रावतले राहत नपाएको गुनासो गरेकी हुन् ।

अमृता भन्छिन्-'बाँया गोडामा २३ ओटा र्छरा रहेको १३ वर्षबित्यो । राहत पाएकी छैन ।'-सशस्त्र द्वन्द्वको समयमा म्याग्दीको बेनी बजारको आक्रमणमा बाँया गोडामा र्छरा लागेको अमृताले बताइन्  ।

रातिको समयमा बम विष्फोट हुदाँ बाँया गोडामा छर्रा लागेको उनले बताइन् । गोडामा र्छरा लागेपछि लठ्ठीको साहारामा हिँड्डुल गर्नु परेको उनले दुखेसो पोखिन् । देशमा सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति स्थापना भएको १० वर्षबित्यो तर रावतले द्वन्द्व पीडितले पाउनुपर्ने राहत भने अझै पाउन नसकेको गुनासो गरिन् ।

अहिले जुम्लाको विकट मालिकाठाँटा गाविसको जुम्लाकोटमा बसोबास गर्दै आएकी रावतले ०५७ देखि ०६० सम्म युद्धमा लडाकूको भूमिकामा सहभागी भएको बताइन् । उपचारका लागि भारतसम्म जाँदा पनि निको नभएको रावतले बताइन् । औषधि उपचारमा कसैले सहयोग नगरेको उनको गुनासो छ ।

'शान्ति स्थापनापछि युद्ध लडेको पार्टी सरकारमा जाँदा पनि उपचारमा कुनै सहयोग हुन सकेन ।'-उनले भनिन्-'अरूको के कुरा गर्नु । ज्यानको बाजी लगाएर रगत बगाएको पार्टी नेतालेसमेत वास्ता गर्दैनन् ।'

दैलेख जिल्ला दुवारी गाविसमा माइती भएकी रावतले जुम्ला जिल्ला मालिकाठाँटा गाविसका छविलाल रावतसँग वैवाहिक सम्बन्धपछि जुम्लाकोट गाउँमा बसोबास गर्दै आएकी छन् । उनका दुई छोरा र एक छोरी छन् । पति पनि दृष्टिविहीन र आफू पनि अपाङ्गता भएकाले गाविसले दिने सामाजिक सुरक्षा भत्ता बाहेक अन्य विकल्प नभएको रावतको भनाइ छ ।

जुम्लाका माओवादी नेतासँग राहतको लागि कुरा गर्दा, दैलेखमा त्रि्रो योगदानका बारेमा जानकारी छ भन्दै आलटाल गर्दे आएको उनले गुनासो गरिन् ।

दैलेखका माओवादी नेतासँग फोनमार्फ कुरा गर्दा, जुम्ला र दैलेखमा रहेका माओवादीहरू एउटै भएकाले जहाँबाट पनि राहतका लागि पहल गर्न सक्ने बताउने गरेको रावतले बताइन् ।

पति जन्मजात दृष्टिविहीन र आफू अपाङ्गता भएकाले घर्रखर्च जुटाउन निकै समस्या हुने गरेको रावतको भनाइ छ । 'माओवादीले म जस्ता हजारौँलाई बाध्यतामा पारेर युद्ध गर्न लगाए । तर, अहिले प्रधानमन्त्रीसमेत भएका छन् । हामी जस्ता नागरिकलाई जीउँदो लास बनाएका छन् ।'-उनले भनिन् ।

रावतका परिवारसँग अपाङ्गता परिचयपत्र पनि छ । 'द्वन्द्वका घाइतेका निहुँमा सामान्य चोटपटक र हात भाँचिएकाले समेत दुई लाख रुपियाँ राहतसहित मासिक १२ हजार पाउँदै आएका छन् ।'-अमृताले आँशु बगाउँदै भनिन्-'हाम्रा लागि के छ र यस्तै छ दुनिया ।'


मानदत्त रावल