शान्ति सुरक्षाको व्यवस्था भरपर्दो मिलाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपुर्ण भूमिका रहने भएकाले शान्तिसुरक्षाको व्यवस्था भरपर्दो मिलाउन निर्देशन दिएका छन् ।

काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा कात्तिक १४ गते सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तले यस्तो निर्देशन दिएका हुन् । मङ्सिर १० र २१ गते प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा गरिँदैछ ।

आगामी निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजना र त्यसको कार्यान्वयनको तयारीप्रति सन्तोष व्यक्त गर्दै डा. यादवले दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधि सभाका १ सय २८ सदस्य र प्रदेश सभातर्फ २ सय ५६ सदस्यको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको हुँदा मनोनयन दर्ता कार्यक्रमलगायत समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजनालाई त्रुटीरहित ढङ्गबाट कार्यान्वयन गर्नका लागि चारओटै सुरक्षा निकायलाई उच्चस्तरको समन्वय र सम्पर्कमा रही काम गर्न सुझाव दिए ।

शान्ति सुरक्षालगायत निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुने बताउँदै शाहले जिल्ला तहमा मतदान कार्यमा खटिने कर्मचारीहरूको खटनपटनमा मुख्य/ निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारीबिचमा सहयोग र समझदारी कायम गरी कार्य सञ्चालन गर्न आयोगले निर्देशन दिइसकेको बताए ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन आयोगको निर्देशानुसार आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।


सुभाष साह